close

सिदिङ्वाका ३२ सामुदायिक आधारभूत विद्यालयमा जोडिँदै इन्टरनेट

सिदिङ्वाका ३२ सामुदायिक आधारभूत विद्यालयमा जोडिँदै इन्टरनेट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाभरिका ३२ वटै सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सिदिङ्वा गाउँपालिकाबीच कम्तीमा २० एमबिपिएस क्षमताको नन् डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने समझदारी भएको हो ।

 

सहमतिअनुसार प्राधिकरणले निर्धारित औसत रकमभन्दा बढी नहुने गरी पालिकाले मितव्ययी, पारदर्शी तथा प्रतिस्पर्धात्मक तरिकाले छनोट गरी तोकिएका सामुदायिक आधारभूत विद्यालयमा सेवा जडान गरिसकेपछि सेवाप्रदायकलाई पालिकामार्फत जडान खर्च र २ वर्षको महसुल बुझाउनुपर्नेछ ।


यसरी रकम उपलब्ध गराउँदा पालिकाको नाममा खोलिएको बैंक खातामा मात्र ट्रान्सफर गर्नुपर्नेछ । सेवा जडान तथा सञ्चालन गरेको प्रमाणित गरी पालिकाले सिफारिस गरेपछि जडान खर्च र १ वर्षको महसुल पालिकामार्फत सेवाप्रदायकलाई भुक्तानी गरिनेछ ।

 

सेवा जडान गरी १ वर्षपछि सम्बन्धित पालिकाले सेवा निरन्तर सम्झौताबमोजिम प्रदान भइरहेको प्रमाणित सिफारिस गरेको आधारमा बाँकी १ वर्षको महसुल पालिकामार्फत सेवाप्रदायकलाई भुक्तानी गरिनेछ ।

 

पालिकाको सिफारिस वा प्राधिकरणले अनुगमन तथा निरीक्षण गर्दा उसले तोकेको गुणस्तरको मापदण्डअनुरूप नभए सेवाप्रदायकलाई समय तोकेर गुणस्तर कायम गर्न निर्देशन दिइनेछ । सम्झौताबमोजिम गुणस्तर कायम नभए सेवाप्रदायकलाई दूरसञ्चार ऐन तथा नियमावलीअनुसार कारबाही अगाडि बढाइने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

 

प्राधिकरणका तर्फबाट निर्देशक सुरेन्द्रलाल हाडा तथा उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ र गाउँपालिकाबाट उपाध्यक्ष जीवन ताम्लिङ तथा प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले हस्ताक्षर गरेका छन् ।

 

२ वर्षका लागि महसुलबापतको रकमको गणना प्राधिकरणबाट स्वीकृत दररेटभित्र पछिल्लो पटक सेवाप्रदायकबाट प्रकाशित गरिएको महसुल दरको आधारमा महसुल र जडान खर्चबापत प्रतिसाइट औसत २६ हजार २ सय ८१ रुपैयाँ कायम गरिएको सहमतिपत्रमा उल्लेख छ ।