close

नमुना स्थानीय तहमा छानियो आठराई त्रिवेणी 

नमुना स्थानीय तहमा छानियो आठराई त्रिवेणी 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङका ९ स्थानीय तहमध्ये प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजीआरपी) अन्र्तगत पेसागत सहयोगका लागि नमुना स्थानीय तहको रूपमा आठराई त्रिवेणी गाउँपालिका छनोट भएको छ ।

 

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले पेसागत सहयोगका लागि नमुना स्थानीय तहको रूपमा आठराई त्रिवेणीलाइ छनोट गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका ताप्लेजुङ संयोजक रेवती नेपालले जानकारी दिए । 

 

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका ५ वटा अंगमध्ये पेसागत सहयोग कार्यक्रम एउटा हो ।

 

यसअन्तर्गत शिक्षकलाई सीप विकास तालिमसहित समग्र व्यवस्थापन प्रणालीबारे जानकारी दिने कार्यक्रम हुनेछ । जिल्लाभर प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहे पनि ९ स्थानीय तहमध्ये पेसागत सहयोग कार्यक्रममा नमुना बनाउन आठराई त्रिवेणी छनोट गरिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका ताप्लेजुङ प्रबन्धक नेपालले बताए । 

 

आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले पेसागत सहयोग कार्यक्रमका लागि प्रारम्भिक कक्षा पढाइ कार्यक्रममार्फत प्राप्त हुने सहयोगबाहेक पालिकाका तर्फबाट आर्थिक व्यवस्थापन गरी पेसागत सहयोगका लागि अग्रसरता लिने बताए । 

 

पेसागत सहयोग कार्यक्रमअन्तर्गत नमुना छनोट भएको पालिकाले पालिका क्षेत्रभित्रका विद्यालयलाई क्लस्टर बनाउने, क्षमता विकास कार्यशाला आयोजना गर्ने, हरेक महिना सघन कक्षा अवलोकन गर्ने र मासिक क्लस्टर बैठक सञ्चालन गर्नेलगायत कार्य हुनेछन् ।

 

हरेक महिना सघन कक्षा अवलोकनका लागि पालिकाले स्रोत व्यक्तिको परिचालन वा लिडर विद्यालयमार्फत अभियान अघि बढाउन सक्नेछ । कक्षा १–३ मा अध्ययनरत बालबालिकाको पठनसीपमा सुधार गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले मुख्यतः ५ वटा विषयलाई समेटेको छ ।


यसमा शिक्षा सामग्री व्यवस्थापन, शिक्षक तालिम (पेसागत सहयोग कार्यक्रम), स्थानीय तहका पदाधिकारी र व्यवस्थापन प्रक्रियामा खटिने जनशक्तिलाई क्षमता विकास, कक्षागत रूपमा गरिने विद्यार्थी मूल्यांकन र अनुगमन तथा मूल्यांकनका कार्य हुनेछन् । 

 

कार्यक्रमले विद्यालयको आधारभूत सर्भे, योजना निर्माण, रणनीति र कार्ययोजना निर्माणमा सघाउनेछ भने समग्र व्यवस्थापनतर्फ समय, स्रोत, जनशक्ति र प्रविधिमा समेत सहयोग गर्नेछ ।

 

इजीआरपीमार्फत ताप्लेजुङमा एकीकृत पाठ्यक्रम विकास र प्राविधिक सहयोग, कम्तीमा १० दिने क्षमता विकास तालिम, नीति र योजना निर्माण, पठनसीप परीक्षणमा सहयोग, स्थानीय तहको शिक्षा योजना र शैक्षिक पाश्र्वचित्र निर्माणमा प्राविधिक सहयोग, शिक्षा योजना र शिक्षा पाश्र्वचित्र निर्माणका लागि कार्यदल गठन, स्थानीय तहमा गठन भएको विज्ञ समूहलाई संस्थागत क्षमता विकास तालिम, स्थानीय तहमा बनेको कार्यदललाइ प्राविधिक सहयोगजस्ता कार्य भइरहेका छन् ।

 

यस्तै, कोरोनाका कारण निरन्तर पढाइमा समस्या झेलिरहेका विद्यार्थीलाई सिकाइ सहजीकरणका लागि निरन्तर सिकाइ सहजीकरण सामग्री, अनलाइन शिक्षण विधिमा आधारित विद्युतीय सामग्री र संकटका बेला पढाइ व्यवस्थापनका लागि सहयोग र यसको अनुगमन पनि भइरहेको इजीआरपीका ताप्लेजुङ संयोजक नेपालले जानकारी दिए ।