close

बाढीले विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित 

बाढीले विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा निरन्तरको वर्षापछि आएको बाढी सामुदायिक विद्यालयमा पसेर बगर बनेपछि पुनः पठनपाठन प्रभावित भएको छ । कोरोना महामारीले दुई शैक्षिक सत्र प्रभावित बनाइसकेको छ । दसैँअघि खुलेका विद्यालय बाढीले बगाएपछि पठनपाठन प्रभावित भएको हो ।


तातोपानी गाउँपालिका वडा नम्बर ४ ठाँटाचौरस्थित नेत्रज्योति माध्यमिक विद्यालय अहिले बगरमा परिणत भएको छ । ३१ असोज बेलुकादेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण बाढीले विद्यालयलाई बगरमा परिणत गरेको हो । यो विद्यालय २०२० मा स्थापना भएको हो ।  बाढीले विद्यालय बगर बनाएपछि पठनपाठन प्रभावित भएको छ । यो १९८४ मा पनि यस्तै बाढी आएर यो ठाउँमा क्षति गरेको बुढापाका बढाउँछन् । 

 

दसैँ बिदापछि ३१ असोजदेखि विद्यालय सञ्चालनमा ल्याउने योजना रहे पनि बाढी पसेपछि अन्योल थपिएको प्र्रधानाध्यापक जाज्वल्याराज न्यौपानेले बताए ।
उनले भने, ‘बाढीले विद्यालय बगाएपछि विद्यालय हो वा बगर छुट्याउनै मुस्किल परेको छ । कक्षा १–१२ सम्म पठनपाठन हुने विद्यालय अहिले बगरजस्तै देखिने गरेको छ ।’ विद्यालयमा अहिले ६५५ विद्यार्थी अध्ययनरत छन् । 


विद्यालय सञ्चालन गर्न १० कोठा आवश्यक छ । विद्यालयका ६ कोठा मात्रै बचेका छन् । बाढीले दुई कोठे विद्यालयको भवन बगाउँदा अनुमानित ४५ लाख रुपैयाँको क्षति भएको छ ।


विद्यालयको घेरबार पर्खाल बगाउँदा ३५ लाख रुपैयाँ क्षति भएको छ । विद्यालयको खेलकुद मैदान बगाउँदा ६० लाख रुपैयाँको क्षति भएको छ । यस्तै, स्टोर गरिएका फर्निचरको ८ लाख, नयाँ निर्माणका लागि राखिएका फर्निचर ४ लाख, जस्तापाताको ३ लाख, निर्माण सामग्री फलामे औजार २ लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माणका लागि राखिएका काठ ५ लाख ५० हजार, राष्ट्यि झन्डा राख्ने मञ्च ४० हजार, विद्यालयको शौचालय २ लाख ५० हजार गरी १ करोड ६६ लाख ३५ हजार बराबरको क्षति अनुमान गरिएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए । 

 

यस पटकको बेमौसमी बाढीले सबैभन्दा बढी नेत्रज्योति माध्यमिक विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मक्कर भण्डारीले बताए । उनले भने, ‘तातोपानी गाउँपालिका वडा नम्बर ७ लामाबजारस्थित जनजागृति माध्यमिक विद्यालयको दुई कोठे भवन पनि बगाएको छ । सोही वडाको वारागाउँस्थित आधारभूत विद्यालयमा पहिरो आउँदा क्षति पुगेको छ ।’


तिला गाउँपालिकाको नुवाकोट गाउँस्थित माध्यमिक विद्यालय सेतीवाडाको भवनभित्र बाढी पसेर क्षति गरेको उनले बताए । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार यस पटकको बेमौसमी वर्षाले शैक्षिक संस्थामा पनि क्षति गरेको छ । उनले भने, ‘धेरै ठूलो क्षति तातोपानी गाउँपालिकाले बेहोर्नुपर्‍यो । पालिका स्तरको विपद् व्यवस्थापन समितिको बैठक बसेर क्षतिको लगत संकलन गरिरहेका छौँ । क्षतिको आधारमा संघ–संस्था, स्थानीय प्रदेश र संघीय सरकारसँग पुनर्निर्माणका लागि पहल गर्ने तयारीमा छौँ ।’