close

भौतिक रूपमै कक्षा सञ्चालन गर्न भक्तपुरको निर्देशन

भौतिक रूपमै कक्षा सञ्चालन गर्न भक्तपुरको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयलाई भौतिक रूपमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोना महामारीका कारण लामो समयदेखि भौतिक रूपमा कक्षा बन्द थिए । कोरोना महामारी कम भएसँगै नगरपालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।


नगर शिक्षा समितिको ४ कात्तिकमा बसेको बैठकले विद्यालयमा भौतिक रूपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार नगरभित्रका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । 

 

सरोकारवाला अभिभावक संघ, विद्यार्थी, स्वास्थ्यकर्मी, शिक्षासेवीलगायतको सुझावअनुसार भौतिक रूपमा कक्षा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । भौतिक रूपमा कक्षा सञ्चालन गर्न स्वास्थ्य सुरक्षा मापदण्ड भने अपनाउनुपर्ने नगरपालिकाको सर्त छ । नगरभित्र हाल ५६ संस्थागत र ३६ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा छन् । 


ती विद्यालयमा करिब ३० हजार बढी विद्यार्थी अध्ययनरत रहेको नगर शिक्षा शाखाले जनाएको छ । नगरपालिकाको यसअघि ९ असोजको निर्णयअनुसार नगरभित्रका विद्यालयमा भौतिक रूपमानियमित परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । 

 

नगरपालिकाले सबै विद्यालयलाई स्यानिटाइज गर्न, साबुन, स्यानिटाइजर, मास्कलगायत सुरक्षा सामग्री वितरण गरिसकेको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।

 

भक्तपुरका चार स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकामा भौतिक रूपमा विद्यालय सञ्चालन भइसकेका छन् । मध्यपुर थिमि र सूर्यविनायकमा तिहारपछि मात्रै भौतिक रूपमा कक्षा सञ्चालनमा ल्याइनेछ ।