close

पढाइ सुरु भएको डेढ सातासम्म खुलेनन् हिमालीका आधारभूत विद्यालय

पढाइ सुरु भएको डेढ सातासम्म खुलेनन् हिमालीका आधारभूत विद्यालय

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेको बागेश्वरी माध्यमिक विद्यालय र मंगलमय आधारभूत विद्यालय सञ्चालनको डेढ सातासम्म पनि नखुलेपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ ।


विद्यालय खुलेको लामो समयसम्म पनि शिक्षक नआउँदा पढाई सुरु नभएको अभिभावकले बताए । वडा नम्बर ५ को रुगिन र नदापाटाका विद्यालय अहिले कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् ।


दसैँ, तिहार बिदाको समय घर गएका शिक्षक हालसम्म विद्यालयमा नफर्केका कारण विद्यार्थीको पढाइ प्रभावित भएको हो । दसैँ बिदा हुनु १५ दिनअगावै गएका शिक्षक विद्यालय सञ्चालन भएको १२ दिन बित्दा पनि नफर्किएपछि बागेश्वरी माविका ३०० बढी र मंगलमय आधारभूत विद्यालयका १५० बढी विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीय नन्दबहादुर भण्डारीले बताए ।

 

प्रधानाध्यापककै कमजोरीका कारण विद्यालय समयमा सञ्चालन नभएको र विद्यार्थीको पढाइ अवरुद्ध भएको अभिभावको गुनासो छ । विद्यालयका प्रधानाध्यापक दानसिंह बुढथापाले पढाउन पहल नगर्ने, स्टाफ मिटिङ पनि नबस्ने र विद्यालय व्यवस्थापन समितिले यसमा पहल नलिएको उनीहरूको भनाइ छ ।


हिमाली गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख परान पाण्डेले बागेश्वरी माविको गुनासो पटक–पटक आउने गरेको र विद्यालयलाई नियमित पढाइ गर्न पत्राचार गर्दासमेत अटेरी गरिरहेको जानकारी दिए । ‘प्रधानाध्यापकलाई पटक–पटक सचेत गराउँदा पनि नियमित विद्यालय सञ्चालन नगरेकाले अब कारबाही प्रक्रियामा जान्छौँ’, पाण्डेले भने ।

 

जिल्लाका अधिकांश स्थानमा प्रभावकारी अनुगमन र नियमन नगर्दा विद्यालले समयमा अध्ययन÷ अध्यापन नगराएको स्थानीय बताउँछन् । यसबारे बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक बुढथापासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।