close

२ महिना विद्यालय पढेका माकको शिक्षाप्रतिको गहिरो लगाव 

पुस्तकका पाना नपल्टाई सिकाउँछन् नानीबाबुलाई सुकुल बुनाइ

२ महिना विद्यालय पढेका माकको शिक्षाप्रतिको गहिरो लगाव 

पुस्तकका पाना नपल्टाई सिकाउँछन् नानीबाबुलाई सुकुल बुनाइ

Trulli
ADVERTISEMENT

भक्तपुर– उमेरले करिब ८ दशक पार गर्दै छन्, भक्तपुरका कृष्णगोपाल माक । उनको अनुहार बुढ्यौलीले छोएको प्रस्ट देखिन्छ । तर, शरीरमा उही जोस अनि जाँगर छ, जुन १६ वर्षे उमेरमा हुन्छ । 


उमेरले ७९ वर्ष भए पनि उनी घरमा मात्रै सीमित छैनन् । अहिले पनि भक्तपुरको शारदा माध्यमिक विद्यालयका नानीलाई पढाउन जान्छन् । तर, उनी कुनै पुस्तक वा किताबका पाना पल्टाउँदै पढाउँदैनन् । विद्यालयका नानीलाई परम्परागत शैलीबाट परालको सुकुल बुन्न सिकाउँछन् । त्यसका लागि विद्यालयले उनीसँग समय लिएको छ । 

 

प्रत्येक दिन दिउँसो ३ बजे हिँडेरै विद्यालय पुग्छन् र साढे ३ बजेदेखि नै बच्चरुलाई भेला पारेर सुकुल बनाउने विधि सिकाउन थाल्छन् । ‘हाम्रो पालामा स्कुल पढ्न जानुपर्छ भन्ने धारणा निकै कम थियो । परिवारको अवस्था पनि उस्तै,’ उनले विगत स्मरण गर्दै भने, ‘जसोतसो भक्तपुर दरबार स्क्वायरसँगै रहेको पद्म माध्यमिक विद्यालयमा पढ्न गएँ । त्यो पनि दुई महिना । त्यसबाहेक पढाइलाई समय दिन सकिनँ अनि पढाइ छाडेँ ।’

 

घरमा हजुरबा र बा परम्परागत सुकुल बुनेर बेच्ने हुँदा आफूले पनि त्यही सीप सिकेको उनी सुनाउँछन् । उनले थपे, ‘कुनै समय सुकुल बेचेर घर पनि चलाएको थिएँ । तर, अहिले त्यस्तो अवस्था छैन । न सुकुल किन्छन्, न त हेर्न नै आउँछन् ।’

 

अहिले सुकुल भएको घर कहाँ छ भनी खोज्नुपर्ने अवस्था आएको उनी बताउँछन् । नेवारी समुदायमा विवाह ब्रतबन्ध या कुनै शुभकार्य किन नहोस्, हरेकमा सुकुल भोज हुने स्मरण गर्दै उनी भन्छन्, ‘आजभोलि सुकुलभोज कमै मात्रामा हुन्छ । अधिकांशले क्याटरिङ भोज गरेका हुन्छन् । त्यसलाई सुकुल चाहिँदैन । कुर्सी र मेच भए पुग्छ ।’

 

भोजमा मात्रै घरमा समेत सुकुलको प्रयोग कम भएकाले अहिलेका नानीले सुकुल देख्नै नपाउने अवस्था आएकामा उनको चिन्ता छ । ‘सुकुल बनाउने र प्रयोग गर्ने अहिले कोही छैनन् । सबैको घरमा आरामदायी मुडा, म्याट अनि चकटी छन्,’ उनले भने ।

 

भूकम्पपछि अधिकांशले पक्की घर निर्माण गरेकाले सुकुल प्रयोग घट्दै गएको उनी बताउँछन् । सुकुलमा परालका सानासाना धुलो खस्ने गर्दछ । ती फोहोर लुगामा टाँसिनुका साथै कपडा पनि फोहोर हुने भएकाले सुकुल प्रयोग हुन छाडेको उनको बुझाइ छ । 

 

माकले कुनै समय सुकुलबाट परिवारको समस्या टार्ने गरेको स्मरण गरे । प्रतिसुकुलको साइजअनुसार १८ सय रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरेको बताउँछन्, उनी । तर, आजभोलि सुकुल बनाउन अर्डर आउनै छाडेकामा उनको गुनासो छ । 


‘शारदा माध्यमिक विद्यालयले बच्चालाई सुकुल बनाउन सिकाउन बोलाएको छ । हरेक दिन सुकुल बनाउन सिकाउन आउँछु । तर, मैले सोचेजस्तो गरी सिकेका छन्,’ उनले भने, ‘बच्चाले उत्साहका साथ सुकुल बनाउन सिकेका छन् । नजानेका कुरा सोध्छन् । म पनि जानेजति सिकाउँछु ।’

 

बच्चाको रुचिअनुसार विभिन्न कक्षाका विद्यार्थीलाई सुकुल बनाउन सिकाएको उनी बताउँछन् । यसबाट केही विद्यार्थीले मात्रै सुकुल राम्रोसँग बनाउन सिके भने आफ्नो परम्परागत पेसा बच्ने विश्वासको उनको छ ।