close

शिक्षालाई प्रविधिसँग जोड्दै गौमूल पालिका

शिक्षालाई प्रविधिसँग जोड्दै गौमूल पालिका

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराका सामुदायिक विद्यालयमा कुनै बेला धुलौटे पाटीमा अक्षर कोरेर विद्यार्थीलाई सिकाइन्थ्यो । त्यसपछि खरिपाटी (चक) आयो । लामो समयसम्म विद्यालयमा प्रयोगमा रहेको कालोपाटी पनि विस्तारै विस्थापित हुँदै गयो । त्यसको स्थान अहिले खरिपाटी, सेतोपाटी र हरियोपाटीले लिन थालेका छन् ।

 

 

त्यति मात्रै नभई यहाँका विद्यालयमा अहिले स्मार्ट खरिपाटी, स्मार्टबोर्ड र प्रोजेक्टरको माध्यमबाट पढाइ हुन थालेको छ । धुलोट, सिलोट, दूधेखी, खरी घोटेर वा हरियो पात र अँगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास अब पुराना भए । बाजुराको गौमूल गाउँपालिकाले जमानाअनुसार शिक्षालाई प्रविधिसँग जोड्न सुरु गरेको छ । 

 

 

गौमूलले स्मार्ट खरिपाटीसञ्चालनमा ल्याएको छ । बालविकास कक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ स्मार्ट खरिपाटी पालिकाका सबै बाल विकास कक्षामा सञ्चालनमा ल्याइएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । ‘स्मार्ट खरिपाटीले बाल विकास शिक्षालाई प्रविधिसँग जोड्नेछ । बालबालिकाको स्वास्थ्यलाई केन्द्रित गरी मोबाइल, ट्याब्लेटले आँखा कमजोर हुने अवस्था हटाउन स्मार्ट खरिपाटी प्रयोगमा ल्याएका हौँ’, उनले भने ।

 

 

कापी, कलम, कागज र इरेजरबिनै बालबालिकाका ध्यान पढाइमा केन्द्रित गर्न स्मार्ट खरिपाटी पालिकाका सबै बाल विकास केन्द्रमा सञ्चालनमा ल्याइएको अध्यक्ष रोकायाले जानकारी दिए ।  बालबालिकालाई पढाइमा लगनशील बनाउने अपेक्षासहित स्मार्ट खरिपाटी प्रविधि प्रयोगक सुरु गरिएको पालिका उपाध्यक्ष सीता थापाले बताइन् ।

 

 

‘प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई पहिलेभन्दा चाखलाग्दो बनाउनेछ । यसले विद्यार्थीमा अनुसन्धान र खोज गरेर सिक्ने बानीको समेत विकास गर्नेछ । बालबालिकाले ठूलो झोलामा किताब–कापी बोक्नुको सट्टा स्मार्ट खरिपाटीप्रयोग गर्न सक्नेछन्’, उनले भनिन् ।

 

 

स्मार्ट खरीपाटीमा जति लेखे पनि केही नहुने, एउटा ब्याट्रीको भरमा २ लाख पटकसम्म डिलिट बटन थिचेको भरमा मेट्न सकिने हुँदा यो प्रविधि विद्यालय सिकाइमा उपयुक्त रहेको स्मार्ट टेक नेपालका प्रमुख विशाल पौडेलले जानकारी दिए ।

 

 

गौमूलले यसअघि सुदूरपश्चिम प्रदेशमा पहिलो स्थानीय तहको रूपमा पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइसकेको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको बडापत्रमा पालिका सबै सेवाशुल्क र नागरिकको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यसहित डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको हो ।