close

धुलोमुक्त विद्यालय बनाउँदै हिमाली पालिका

धुलोमुक्त विद्यालय बनाउँदै हिमाली पालिका

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको हिमाली गाउँपालिकाले गुणस्तरीय शिक्षा उपलब्ध गराउन पालिकाभित्रका सबै विद्यालयमा डेस्क, बेन्च र कार्पेट वितरण गरेको छ ।  गाउँपालिकाले धुलोमुक्त विद्यालय बनाउने योजनाअनुरूप पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयलाई उक्त सामग्री वितरण गरेको हो ।

 

शैक्षिक वातावरण बनाउन, धुलो र चिसो भुइँमा बसेर विद्यार्थीले पढ्नुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले प्रारम्भिक बालकक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि डेस्क, बेन्च र कार्पेट वितरण गरेको पालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । 


गाउँपालिकाको आफ्नै स्रोतबाट विद्यार्थीको सहजताका लागि डेस्क, बेन्च र कार्पेट वितरण गरिएको बताइएको छ । गाउँपालिकाभित्रका २२ वटा विद्यालयमा अध्ययनरत ३ हजार ५ सय बढी विद्यार्थीलाई कार्पेट, डेस्क र बेन्च वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।


प्रारम्भिक बालकक्षादेखि कक्षा ३ सम्मका बालबालिकाका लागि १ हजार ५० मिटर कार्पेट र कक्षा ३ देखि १२ कक्षा सम्मका विद्यार्थीका लागि ७ सय बढी सेट डेस्क, बेन्च वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए ।


गाउँपालिकाका सबै विद्यालयमा ती सामग्री वितरणपछि विद्यार्थीले धुलो र चिसो भुइँमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।


ग्रामीण क्षेत्रका अधिकांश विद्यालयमा अध्ययनरत विद्यार्थी डेस्क, बेन्च र ओछ्याउने कार्पेट अभावले धुलो भुइँमा बसेर अध्ययन गर्दा गुणस्तरीय शिक्षा हासिल नहुने भन्दै धुलोमुक्त विद्यालय योजना गाउँपालिकाले अघि सारेको हो ।


विद्यालयमा पर्याप्त मात्रामा डेस्क, बेन्च तथा कार्पेट अभावका कारण चिसो भुइँमा बसेर अध्ययन गरिरहेका बालबालिकामा निमोनियालगायत रोग लाग्न सक्ने समस्या हटाउन डेस्क, बेन्च र कार्पेटले केही राहत पुग्नेछ ।