close

ज्वालामूखीको शिक्षा : नो ब्याग फ्राइडे कार्यक्रम

ज्वालामूखीको शिक्षा : नो ब्याग फ्राइडे कार्यक्रम

Trulli
ADVERTISEMENT

धादिङ– ज्वालामूखी गाउँपालिकाले एमजिएमएल पद्धतिबाट कक्षा १ देखि ३ सम्म पढाएको छ । गाउँपालिकाले पालिकाभित्रका १३ वटा विद्यालयमा एमजिएमएल पद्धतिबाट विद्यार्थीहरूलाई पढाएको हो । 

बहुकक्षा बहुस्तर शिक्षण पद्धतिबाट तीनवटा कक्षाका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर पढाइने गरेको गाउँपालिकाकी स्थानीय शिक्षा अधिकारी देवकी सिंखडाले बताइन् ।  उनको अनुसार यस विधिबाट शिक्षण गर्दा विद्यार्थीहरूले आफ्नो क्षमता, रुची अनुसार आफ्नो आफ्नो समूह छुट्याएर अध्ययन गर्छन् । यस किसिमको शिक्षण सिकाइमा शिक्षक सहजकर्ता रहने र विद्यार्थीहरू बढी क्रियाशिल रहने उनले बताइन् ।

‘एमजिएमएल पद्धतीबाट पढाउँदा विद्यार्थीहरू कम रहेको विद्यालयमा कक्षाको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । शिक्षकको अभाव हुँदा पनि कक्षा व्यवस्थापन गर्न सजिलो हुन्छ । विद्यार्थीहरू आफैले आफ्नो रुची र क्षमता पत्ता लगाउन सकेका छन्,’ उनले भनिन् । 

गत शैक्षिक सत्रबाट गाउँपालिकामा रहेका ३७ वटा विद्यालयमध्ये १३ वटा विद्यालयको कक्षा १,२ र ३ का विद्यार्थीहरूलाई एमजिएमएल पद्धतिबाट पढाउन थालिएको उनले बताइन् । यस वर्ष १२ वटा विद्यालयमा सुरु गर्ने योजना गाउँपालिकाको छ ।  

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘नो ब्याग फ्राइडे’ कार्यक्रम समावेश गरेको छ । सो अनुसार साउनको अन्तिम सातादेखि ‘नो ब्याक फ्राइडे’ सुरु गरिएको उनले जानकारी दिइन् । पालिकाभित्रको ३७ वटा विद्यालयमा नै सो कार्यक्रम लागु गरिएको छ । ‘शुक्रबार विद्यार्थीहरू ब्याग नबोकी विद्यालय जान्छन् । पालिकाले बनाएको स्थानीय पाठ्यक्रम  र विद्यालयहरूले बनाएको कार्यक्रम अनुसार विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ,’ उनले बताइन् । यस्तै गाउँपालिकाले पालिकाभित्रका ३ वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम पनि सुरु गरेको छ । 

ज्वालामुखि गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ११ र १२ मा नि:शुल्क शिक्षा सुरु गरेको छ । गत आर्थिक वर्षमा पालिकाका दलित र आर्थिक विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा सुरु गरेकोमा यस वर्षदेखि पालिकाभित्र अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरेको हो । ‘गाउँपालिकाले स्कुल, कलेजको खातामा आवश्यक रकम जम्मा गरिदिन्छ ।

क्याम्पसले त्यो बाहेक विद्यार्थीसँग अतिरिक्त शुल्क लिन पाउँदैनन् । गाउँपालिकामा कक्षा ११ र १२ मा अध्ययन हुने ६ वटा विद्यँलयहरू छन् । कम्प्युटर विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा पढाइ हुने गरेको शाखा प्रमुख सिंखडाले बताइन् । 

गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई पनि निःशुल्क शिक्षा उपलब्ध गराएको छ। पालिकाका स्थानीयले नेपालको जुनसुकै स्थानमा गएर पनि कृषि, इन्जिनियरिङ, स्वास्थ्यजस्ता प्राविधिक धारमा अध्ययन गरेमा गाउँपालिकाले अध्ययन खर्च उपलब्ध गराउने उनले बताइन् । 

गाउँपालिकाले विद्यार्थीहरूको क्षमता विकासको लागि अतिरिक्त कार्यक्रमहरू पनि सञ्चालन गर्ने शाखा प्रमुख सिंखडाले बताइन् । गत भदौमा गाउँपालिकाले शैक्षिक मेला सञ्चालन गरेको थियो । शैक्षिक मेलामा विज्ञान सामाग्री प्रदर्शनी गरेको उनले सुनाइन् । विज्ञान प्रदर्शनीमा  माध्यमिक तहका १२ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । 

गाउँपालिकाले प्रधानाध्यापक तथा शिक्षकहरूको नियुक्तिको लागि कार्यविधि बनाउन लागेको उनले बताइन् । ‘कार्यविधि बनाएर प्रधानाध्यापक र शिक्षकहरूको व्यवस्थापन गछौँ,’ उनले भनिन् । यस्तै गाउँपालिकाले सुत्केरी बिदामा बसेको शिक्षकहरूको सट्टामा विद्यालयमा शिक्षक राख्न आर्थिक व्यवस्थापनसमेत गर्ने गरेको उनले जानकारी दिइन् ।