close

गाउँमै बाख्रा पालिन्छ, विदेश गइन्न

गाउँमै बाख्रा पालिन्छ, विदेश गइन्न

Trulli
ADVERTISEMENT

दैलेख– कोरोनाका कारण वैदेशिक रोजगारी खोसिएर गाउँ आएका यहाँका युवाहरूले विदेश फर्किने सपना त्याग्न थालेका छन् । कोरोना महामारीले रोजगारी गुमाएर गाउँमा पसेका दैलेखको गुराँस गाउँपालिका युवाहरूले अहिले पालिकामै रोजगारका विभिन्न काममा हात हालेका छन् । 


केही बाख्रा, केही कुखुरापालनमा र केही तन्नेरी आलु खेतीमा लागेका छन् । आफ्नै बारी खनीखोस्री स्थानीय स्तरमै रोजगारी प्राप्त भएपछि युवाहरूले विदेश जाने मोह त्यागेका हुन् ।

 

गुराँस गाउँपालिकाको वडा नम्बर ४ का दीपक रिजाल १० वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए । रिजाल अब विदेश नजाने निर्णय गर्दै घरमै बाख्रापालनमा लागेका छन् । 

 

रिजालले भने, ‘म अब विदेश जाँदिनँ । आफ्नै घरमा मिहिनेत गर्छु । रोजगारीका लागि विदेश गएँ । त्यहाँ बसेर वर्षको ४५ देखि ५० हजार रुपैयाँसम्म घर ल्याउँथेँ । अब २ वटा खसी पालेर बिक्रि गरेँ भने १ लाख रुपैयाँ आम्दानी यही हुन्छ । बिहान– बेलुका अन्यत्र काम गरे पनि राम्रो आम्दानी हुन्छ ।’

 

गुराँस कै ७० वर्षका जसवीर विकका ५ छोराछोरी छन् । २ छोरा कमाइका लागि भारत गएका छन् । घरमा ३ वटा बाख्रा पालेका उनले थप २ वटा बाख्रा पाएपछि बाख्रापालनलाई महत्त्व दिने र छोराहरूलाई समेत विदेश नपठाउने तयारीमा छन् । विकले भने, ‘अब ५ वटा बाख्रा भएका छन् । छोराछोरीलाई बाख्रापालनमा लगाएर विदेश नजान भन्छु ।’

 

उनीजस्तै कोरोनाकै कारण रोजगारी गुमाएर समस्यामा परेका ५० किसानलाई १ सय बाख्रा वितरण गरिएको छ भने २ हजार कुखुराका चल्ला वितरण गरेर पाल्न सुरु गरिएको छ । 

 

कोरोना कहरमै भारतबाट रोजगारी गुमाएर घर फर्केका उनीहरूजस्तै दैलेखको वडा नम्बर ४ का सय बढी युवा, एकल महिला, विपन्न समुदाय, अपांग परिवार अहिले केही कुखुरापालन, केही बाख्रापालन, केही तरकारी उत्पादनमा लागेका छन् ।

 

गुराँस गाउँपालिका र युनडिपीको सहयोगमा समूह निर्माण गरेर कोरोनाकै कारण रोजगारी गुमाएकालाई स्थानीय स्तरमै आयआर्जनका काममा लगाइएको छ । 

 

अहिले महिला सशक्तीकरण मञ्च दैलेखले गाउँका युवालाई रोजगारी प्रदान गर्ने अभियानको संयोजन गरेको छ । पालिकाभरिका ४ सय बढी युवालाई स्थानीय स्तरमै रोजगारी दिइएको छ ।

 

युनडिपीको र गुराँसको आर्थिक सहयोगमा थालिएको अभियान निकै प्रभावकारी देखिएको महिला सशक्तीकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले जानकारी दिइन् । 

 

डुंगेश्वर गाउँपालिका अध्यक्ष खेमराज ओली युवालाई दिइएका बाख्राको बिमा गरिएको र समस्या भए पालिकाले उपचार एवं अन्य प्राविधिक सहयोग गर्दै आएको बताउँछन् । गाउँमै आम्दानीको स्रोत भेटिएपछि भारतबाट आएका धेरै युवाहरू अहिले यही अडिएका छन् ।