close

पञ्चेश्वर पालिकाका १२० युवालाई स्वरोजगार तालिम

पञ्चेश्वर पालिकाका १२० युवालाई स्वरोजगार तालिम

Trulli
ADVERTISEMENT

बैतडी– पञ्चेश्वर गाउँपालिका, राष्ट्रिय युवा परिषद र नबिल बैंकबीचको त्रिपक्षीय सम्झौताअनुसार पालिकाका १२० युवालाई स्वरोजगार बनाउन तालिम दिइएको छ ।  तालिम पाएका युवा आफूले गर्न चाहेको उद्यमको योजनाका आधारमा बिनाधितो, बिनाब्याज ५ देखि २० लाख रुपैयाँसम्म ऋण प्राप्त गर्नेछन् । 

 


उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धिमा अग्रसर गराउने उद्देश्यका साथ कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका लागि पञ्चेश्वर गाउँपालिकामा ३ सय युवाले आवेदन भरेकामा १२० जना छनोट भएका थिए । 

 


छनोट भएका युवालाई ७ दिने सहुलियतपूर्ण कर्जा सहजीकरण उद्यमशीलता तालिम दिइएको राष्ट्रिय युवा परिषद्का कार्यकारी बोर्ड सदस्य गोविन्द गिरीले बताए । यो कार्यक्रम हालसम्म देशभरका ४ स्थानीय तहमा लागू भएको उनले जानकारी दिए । कार्यक्रम लागू भएका स्थानीय तहमा भक्तपुरको चाँगुनारायण नगरपालिका, जुम्लाको तिला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिका हुन् ।

 

 

पञ्चेश्वरमा उद्यम गर्न तालिम लिएका युवाले कृषि, पशुपालन तथा कपडा उद्योग सञ्चालन गर्ने बताए । अधिकांश युवा तरकारी, फलफूल, बाख्रा, कुखुरा, माछापालन, सिलाइ तथा हाते होजियारी व्यवसाय गर्न इच्छुक रहेको पञ्चेश्वर पालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । 

 


पञ्चेश्वरमा सञ्चालन गरिएको ७ दिने तालिममा राष्ट्रिय युवा परिषद्का ८ प्रशिक्षकले ३०–३० जनाको ४ समूह बनाएर तालिम दिएका हुन् । पालिका अध्यक्ष चन्दको अध्यक्षतामा तालिम समापन गरिएको हो । कार्यक्रममा नबिल बैंकका अधिकृत अमृत कार्की, स्थानीयलगायत सहभागी थिए ।