close

प्रधानमन्त्री रोजगार कार्यक्रममा हुने/खानेको रजाइँ

विपन्न समुदाय समेटिएनन्

प्रधानमन्त्री रोजगार कार्यक्रममा हुने/खानेको रजाइँ

विपन्न समुदाय समेटिएनन्

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम हुनेखानेका लागि मात्रै भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले राजनीतीकरण गर्दै नजिकका कार्यकर्तालाई रोजगारीमा छनोट गरेको पाइएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा वास्तविक गरिब भने वञ्चित हुँदै आएका छन् । खप्तड छेडेदह गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट गर्दा गरिबलाई नगरी शिक्षक, कर्मचारी र ठेकेदारलगायत परिवारका सदस्यलाई छनोट गरेको पाइएको छ ।

 

गाउँपालिकाको वडा नम्बर ६ मा शिक्षक, पालिका कर्मचारी, ठेकेदार, वडाका कर्मचारी, लेखापाललगायत परिवारका सदस्यलाई छनोट गरी काममा लगाइएको पीडितले बताएका छन् । वडामा धेरैजसो शिक्षकका श्रीमती र शिक्षिकाका श्रीमान् छनोट भएका छन् । मष्टेश्वरी मावि डोगडीका प्रधानाध्यापक मंगल धामीकी श्रीमती सिर्जना धामीसमेत रोजगारमा छनोट भएकी छन् ।

 


त्यस्तै, ब्रह्मदेव निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नाथकी श्रीमती लक्ष्मीदेवी नाथ, विद्यालयका शिक्षक गोरे नाथकी श्रीमती नामसरा नाथ, शिक्षक अर्जुन नाथकी श्रीमती चन्दकला नाथ, शिक्षक चन्द नाथका छोरा सन्तोष नाथ, शिक्षिका सारा नाथका श्रीमान् गोरेनाथ योगी, शिक्षिका सत्यदेवी नाथका श्रीमान् नन्दनाथ योगीले रोजगारमा छनोट भई काम गरिरहेका छन् । 

 

यी सबै एउटै विद्यालयका शिक्षक–शिक्षिकाका परिवारका सदस्य हुन् । गाउँपालिकामा कार्यरत पोषण संयोजक शेरबहादुर बुढाकी श्रीमती मना बुढा, सोही वडा कार्यालयमा कार्यरत लेखापाल शंकर नाथकी श्रीमती पार्वतीकुमारी गिरीसमेत छनोटमा परेका छन् । ठेकेदार बुद्ध बुढाकी आमा माता बुढालाई पनि छनोटमा पारिएको छ ।

 

वास्तविक गरिब तथा रोजगार खोजिरहेकालाई अवसरबाट वञ्चित गरी शिक्षक तथा पालिका कर्मचारीका परिवारका सदस्यलाई नै प्रधानमन्त्री रोजगार कार्यक्रममा राखिएको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कुम्भ नाथले आफ्ना कार्यकर्तालाई मात्र रोजगारमा छनोट गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । वडाध्यक्ष नाथले एकपक्षीय ढंगले रोजगारमा छनोट गरेको वडा कमिटीको बैठकमा स्थानीय लालवीर नाथले बताए ।

 

रोजगारको सूचीमा पर्नुपर्ने परिवारलाई छुटाएर शिक्षक, वडादेखि पालिकाका कर्मचारी र ठेकेदारसम्मका सदस्यको रोजगार कार्यक्रममा रजाइँ भएको उनले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा महिला र छनोटमा परेकाको नाम लिस्ट माग्दा वडाध्यक्ष कुम्भ नाथ र खप्तड छेडेदह गाउँपालिका रोजगार संयोजक लोकराज जोशीले अटेरी गरेको नाथको गुनासो छ ।

 


विपन्न परिवारलाई रोजगारमा छनोट गर्नुपर्ने भए पनि वडाध्यक्षले मनोमानी हिसाबले नजिकका कार्यकर्ता र शिक्षकका परिवारलाई छनोट गरेका छन् । वडाध्यक्ष नाथले राजनीतीकरण गरी पार्टीमा आस्था राख्नेलाई मात्र रोजगारमा छनोट गरेको स्थानीयको दाबी छ ।