close

भारतीय ऋणमा पश्चिम–सेती प्रसारण लाइन बन्ने

१४ अर्बको लागत अनुमान

भारतीय ऋणमा पश्चिम–सेती प्रसारण लाइन बन्ने

१४ अर्बको लागत अनुमान

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रदेशमा पश्चिम–सेती प्रसारण लाइने बन्ने भएको छ । भारतीय ऋणमा चार सय केभी क्षमताको प्रसारण लाइन बन्ने भएको हो । 

भारतसँग ऋण लिएर चैनपुर–वनलेख–न्यू अत्तरिया डबल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाइएको छ । प्रसारण लाइन निर्माण गर्न लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गत भारत सरकारले ऋण दिने बताइएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवालीका अनुसार उक्त प्रसारण लाइन निर्माणका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो । 

सो प्रसारण लाइन निर्माणको जिम्मा पाएको राष्ट्रिय कम्पनीले एक महिनाअघि नै अध्ययन सकेर लगानी स्रोत जुटाउन पनि मन्त्रालयलाई प्रस्ताव उनले बताए । 

एक सय ५० किलोमिटरको उक्त आयोजना लम्की र बरेलीमा जोडिनेछ । १२ सय मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनालाई केन्द्रमा जोड्न यो प्रसारण लाइन महत्त्वपूर्ण मानिएको छ । असार ६ गते मात्रै सरकारले सुदूरपश्चिममा रहेको पश्चिमसेती आयोजना भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लाई दिने निर्णय गरेको थियो । 

सात सय ५० मेगावाटको पश्चिम सेतीको जिम्मा पाएको कम्पनीलाई नै चार सय ५० को सहायक सेती नदी आयोजनाको जिम्मा दिने बताइएको छ । 
उक्त संयुक्त पश्चिम सेती आयोजना मात्रै १२ सय मेगावाट क्षमताको छ । त्योसँगै पश्चिम सेती करिडोरमा थप सात सय मेगावाट आयोजना निर्माण हुँदैछन् । 
पश्चिम–सेती करिडोरका आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न यो प्रसारण लाइनले मद्दत गर्ने प्रमुख कार्यकारी ज्ञवालीले बताए । 
उनले भने, ‘सेती बेसिनको सबै पावरलाई जोड्ने हिसाबले यो लाइनको निर्माण गर्न थालिएको हो । दैजी भन्ने ठाउँमा पावरलाई जोड्ने प्रस्ताव गरिएको छ । त्यहाँबाट पूर्वपश्चिमको लिंक आउँछ ।’ यसको लागत १४ अर्ब अनुमान गरिएको छ । 

अब निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढ्नेछ । टेन्डर आह्वानपछि निर्माणको प्रक्रिया अघि बढ्नेछ । यो प्रसारण लाइन निर्माणपछि दोस्रो चरणमा ४ सय केभी नै पश्चिमसेती–दोधारा प्रसारण लाइन निर्माण गरिनेछ ।
संयुक्त पश्चिम–सेती आयोजना र त्यसका लागि आवश्यक प्रसारण लाइन पनि भारतीय ऋणमा नै निर्माण हुन गइरहेको छ ।

अस्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले बनाउन नसकेको पश्चिम-सेती आयोजना सम्भाव्यता अध्ययन भएको ४० वर्षपछि भारतले निर्माणको जिम्मा पाएको हो ।