close

गजेन्द्रनारायण सिंह अस्पतालका ४ भेन्टिलेटर प्रयोगविहीन

गजेन्द्रनारायण सिंह अस्पतालका ४ भेन्टिलेटर प्रयोगविहीन

ADVERTISEMENT

सप्तरी– मुलुकमा कोरोना संक्रमण बढिरहँदा सरकारले नै भेन्टिलेटर अभाव भएको बताइरहेका बेला राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ४ वटा भेन्टिलेटर प्रयोगविहीन रहेका छन् । भेन्टिरलेटर प्रयोग नहुँदा सप्तरीमा कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीको उपचारमा समस्या भएको छ ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको ४ थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र सञ्चालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण थन्किएका हुन् ।

मुलुककै सबैभन्दा बढी १ सय ७८ शैयाको  आइसोलेसन कक्ष साइकृष्णा मेडिकल कलजेमा सञ्चालनमा ल्याइएको छ । तर, त्यहाँ भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगीको उपचार हुन नसकी अकालमै ज्यान जाने गरेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाइले ज्यान गएको तिलाठी कोइलादी गाउँपालिका अध्यक्ष सतिशसिंहले जानकारी दिए ।

‘गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झा भन्छन्, ‘जटिल समस्यामा पुगेका बिरामीहरुलाई भेन्टिलेटर र आइसियु अति आवश्यक रहे पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नु परेको छ ।’

आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था हुने हो भने यही उपचार सम्भव रहेको उनको तर्क छ । पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारलाई आग्रह गरिरहे पनि अहिलेसम्म पहल नभएको उनले जानकारी दिए ।

कोरोना संक्रमणसँगै यहाँका अस्पतालमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या बढ्दै गए पनि आइसियु र भेन्टिलेटर सञ्चालनमा भइरहेको ढिलाइप्रति स्थानीय आक्रोशित छन् ।

संक्रमित तथा जटिल रोगका बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी भेन्टिलेटर र आइसियु सेवा सञ्चालन गर्न स्थानीयले प्रदेश सरकारसँग माग गरेका छन् ।