close

ठाकुरबाबाले स‌ञ्चालनमा ल्यायाे विशेषज्ञ सेवासहितको अस्पताल

ठाकुरबाबाले स‌ञ्चालनमा ल्यायाे विशेषज्ञ सेवासहितको अस्पताल

Trulli
ADVERTISEMENT

बर्दिया- घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाइएला भनेर ठाकुरबाबा नगरवासीले सोचेका पनि थिएनन् । स्थानीय सरकारले नगरमा विशेषज्ञसहितको स्वास्थ्य सेवा दिने गरी अस्पताल संंचालन गरेपछि नगरवासी दंग छन् ।

 

नगरमै अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने नगरवासीको बाध्यता हटेको छ । विशेषज्ञ स्वास्थ्य सेवा घरदैलोमै पाउने भएपछि नगरवासी खुसी भएका छन् ।  ठाकुरबाबा नगरपालिकाले शनिबार आधारभूत नगर अस्पतालको औपचारिक उद्घाटन गरेको छ ।


पहिलो चरणमा पाँच शय्याबाट आधारभूत नगर अस्पतालको सेवा सुरु गरिएको हो । चरणबद्ध रूपमा अस्पतालमा शय्या विस्तार गरिने नगरपालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिका वडा- १ मा रहेको नेउलापुर स्वास्थ्य चौकीको भवनलाई अस्पतालको रूपमा प्रयोग गरिएको हो । 


नगरवासीलाई स्वास्थ्यको अधिकार सुनिश्चित गर्न नगरमै अस्पताल संंचालन गरिएको हो । अस्पताल संंचालनमा आएपछि नगरवासीलाई स्वास्थ्यमा सहज पहुँच पुगेको छ । नगरमा विशेषज्ञ सेवासहितको अस्पताल नहुँदा नगरवासी विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता थियो । 


अस्पतालबाट पहिलो चरणमा ओपीडी सेवा, साधारण एक्सरे, भिडियो एक्सरे, ईसीजी, साधारण शल्यक्रिया, रगत जाँच, क्षयरोग जाँच, सिकलसेल जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिने ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र राजवंशीले जानकारी दिए ।


हाल अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, परिचरलगायतका कर्मचारीले सेवा प्रदान गर्नेछन् । नगरमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाइन थालेपछि बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता हट्नेछ’, स्थानीय केशवप्रसाद खनालले भने । 


पाँच शय्याबाट सुरु गरिएको अस्पतालललाई ५० शय्यासम्म पुर्‍याउने नगरपालिकाको योजना छ । ५० शय्याको अस्पताल निर्माणको कामसमेत अघि बढाइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । 


‘५० शय्याको अस्पताल निर्माणका  लागि डीपीआर तयार भइसकेको छ । केही दिनमै अस्पताल निर्माण अघि बढ्छ’, नगरप्रमुख श्रेष्ठले भने । अस्पताल निर्माणका लागि नगरले पहिलो चरणमा एक करोड रुपैयाँ बजेट छुट्याएको छ भने संघीय र प्रदेश सरकारबाट पनि केही रकम प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

 

नगरमा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालसँगै पालिकाले ‘एक वडा, एक आधारभूत स्वास्थ्य केन्द्र’ अभियान चलाएर नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको छ ।