close

त्रिपुरासुन्दरी गाउँपालिकामा निःशुल्क ल्याब टेष्ट

त्रिपुरासुन्दरी गाउँपालिकामा निःशुल्क ल्याब टेष्ट

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– स्थानीय सरकारले आफ्ना नागरिकलाई घरदैलोमा नै विभिन्न सेवा, सुविधा दिएर स्थानीय सरकारको अनुभूति गराउन विभिन्न अभियानहरू सुरु गरिरहेका छन् । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारले पनि फरकफरक कार्यक्रमहरू ल्याएर आफ्ना नागरिकलाई घरदैलोमा नै सकेसम्म सेवा सुविधा दिन प्रयत्न गरिरहेका छन् ।


सिन्धुपाल्चोकको विकट र ऐतिहासिक क्षेत्रका रूपमा परिचित त्रिपुरासुन्दरी गाउँपालिकाले भने आफ्ना नागरिकको प्रयोगाशालमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात गरेको छ ।


गाउँपालिकामा प्रयोगशाला मात्र होइन, स्वास्थ्य चौकीमा सामान्य सिटामोलसमेत नपाउँदा समस्यामा रहेका त्रिपुरासुन्दरीका स्थानीयले अब भने आफ्नै पालिकामा सबै रोगको निःशुल्क ल्याब परीक्षण गर्न पाउने भएपछि खुसी भएका छन् ।


गाउँपालिकाले स्थानीयको स्वास्थ्यप्रति सजग हुँदै स्वास्थ्यमा नयाँ कामको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको केन्द्र पिस्करमा पालिका मातहत हुने गरी सुरुवात गरिएको जनता निःशुल्क स्वास्थ्य प्रयोगशालको अध्यक्ष श्रेष्ठले उद्घाटनसमेत गरेका थिए ।


प्रयोगशालाका लागि बाह्रबिसे र काभ्रेको धुलिखेलसम्म जानुपर्ने र आर्थिक अभावमा रोग लागे पनि परीक्षण नगरिरहेका स्थानीयलाई यो सेवापछि सजिलो भएको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकाले स्थापना गरेको प्रयोगशालामा मधुमेह, युरिक एसिड, रगत जाँच, रक्त समूह जाँच, हेपाटाइटिस, एच.आई.भी., औलो, भिरिङ्गी, मिर्गाैला रोग, कालाजार, पिसाब जाँच, दिशा जाँच, टाइफाइडलगायतका रोगहरूको निःशुल्क परीक्षण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
 

गाउँपालिकाले पिस्कर स्वास्थ्य चौकीमा प्रयोगशालाका लागि आवश्यक पर्ने सबै उपकरणसमेत खरिद गरेको र प्राविधिक जनशक्ति पनि गाउँपालिकाले राखेको अध्यक्ष श्रेष्ठले बताए । त्रिपुरासन्दरी गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै जनताको निःशुल्क स्वास्थ्य परीक्षण गरिने उल्लेख गर्दै त्यसका लागि बजेटसमेत विजनियोजन गरेको थियो ।


अल्पसंख्यक थामी समुदायको बसोवास रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले सुरु गरेको यस अभियानले सबैलाई फाइदा हुने स्थानीयसमेत रहेका पूर्वस्थानीय विकासमन्त्री अमृतकुमार बोहोराको भनाइ छ ।