close

खाँदबारीका सुत्केरीलाई  निःशुल्क एम्बुलेन्स सेवा 

खाँदबारीका सुत्केरीलाई  निःशुल्क एम्बुलेन्स सेवा 

Trulli
ADVERTISEMENT

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स र बाल पोषण पोको दिने भएको छ । आमा र बच्चालाई स्वास्थ रहन र कुपोषित हुनबाट बचाउन बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले बाल पोषण पोको कार्यक्रम ल्याएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।


बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमाले बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ठ नगद तीन हजार रुपैयाँ उपलब्ध गराइने प्रमुख खतिवडाले बताए । बालबालिका र आमालाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा खरिद गर्ने सहयोग पु¥ाउने उद्देश्यका साथ आर्थिक वर्ष २०७६/०७७ को नीति नगर परिषद्ले पारित गरेको नगरप्रमुख खतिवडाले जानकारी दिए । 


बाल पोषण पोका कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको संख्या बढ्ने अपेक्षा गरिएको छ । निक साइमन संस्थाका दुई चिकित्सकले २४ घण्टे प्रसूति सेवा दिइरहेका कारण जिल्ला अस्पताल खाँदबारी, छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपलिका, साल्ला सिलिच्छो गाउँपालिका, अरुण गाउँपालिका र धनकुटा जिल्लाबाट समेत प्रसूति सेवा लिन आउनेको संख्या वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ । 


प्रसूतिलाई नगरको निःशुल्क एम्बुलेन्स सेवा


खाँदबारी नगरपालिकाले सुरक्षित प्रसूति गराउनेलाई निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको नगर उपप्रमुख डेगेश्वरी श्रेष्ठले जानकारी दिइन् । आमा र बच्चा दुवैको ज्यान सुरक्षित बनाउन सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उपप्रमुख श्रेष्ठले बताइन् । 


नगरपालिकाले नगरभित्र बसोबास गर्ने गर्भवतीलाई बर्थिङ सेन्टरसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्ससमेत प्रदान गरिएको उपप्रमुख श्रेष्ठको भनाइ छ । खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीनवटा बर्थिङ सेन्टर भए पनि जिल्ला अस्पतालमा मात्र दक्ष चिकित्सक उपलब्ध छन् । नगरभित्र तुम्लिङटार, सेकाहा र शीतलपाटीमा मात्र बर्थिङ सेन्टर छन् । 

 

सडक संजाल जोडिएका जुनसुकै स्थानका गर्भवतीलाई नगरपालिकाकै एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्न कार्यविधि बनाइएको खाँदबारी नगरपालिले जनाएको छ । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अन्य जोकोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्चबापतको भुक्तानी नगरपालिकाले व्यहोर्नेसमेत खाँदबारी नगरपालिकाले जनाएको छ ।  


उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्म दर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको छ । 


नगरपालिकाको आमा र बच्चाको स्वास्थ्यमा कुनै समस्या आउन नदिन चालू आर्थिक वर्षमा यस कार्यक्रमका लागि छ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।