close

जग्गा अभावले लोमान्थाङमा अस्पताल निर्माण रोकियो

जग्गा अभावले लोमान्थाङमा अस्पताल निर्माण रोकियो

Trulli
ADVERTISEMENT

मुस्ताङ– संघीय स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका लागि आधारभूत स्वास्थ्य अस्पताल भवन निर्माण गर्न बजेट उपलब्ध गराएको छ ।

 

तर, उपल्लो मुस्ताङको लोमान्थाङमा सोमबार अस्पताल भवन शिलान्यास हुन सकेन । लोमान्थाङले पहिलो चरणमा पूर्वाधार निर्माणका लागि बजेट निकासा गरे पनि  जग्गा उपलब्ध नहुँदा अस्पताल निर्माण रोकिएको हो ।


लोमान्थाङमा आधारभूत स्वास्थ्य भवन निर्माण सुरु नगरिए पनि थासाङ गाउँपालिकामा १५ शैय्याको र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पाँच शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ ।


लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदी अस्पताल भवनका लागि पालिकाले जग्गा पाउन नसक्दा समस्या भएको बताउँछन् ।


‘आधारभूत अस्पतालका लागि मंसिर मसान्तभित्र शिलान्यास गर्ने गरी आगामी कार्यपालिकाले निर्णय गर्छ’, उनले भने, ‘लोमान्थाङ–५ मा स्थानीयले जग्गा दिने प्रस्ताव पालिकामा आएको छ । लिखित रुपमै समझदारी बने त्यहाँ निर्माण गर्छौं, नभए कार्यपालिकाले तोकेको अर्को स्थान छनोट हुन्छ ।’


सरकारले पाँच शैय्याको  अस्पताललाई  आठ करोड, दस शैय्याकोलाई ११ करोड र १५ शैय्याको आधारभूत अस्पताल भवन निर्माण १८ करोड बजेट विनियोजन गरेको थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।


थासाङमा संघीय सांसद प्रेमप्रसाद तुलाचनले र बारागुङ मुक्तिक्षेत्रमा गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन अस्पताल शिलान्यास गरे ।