close

स्वास्थ्य सेवाको पहुँच बढाउँदै रुकुम पश्चिमका स्थानीय तह

स्वास्थ्य सेवाको पहुँच बढाउँदै रुकुम पश्चिमका स्थानीय तह

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम पश्चिमका स्थानीय तह स्वास्थ्य सेवाको विस्तारमा लागेका छन् । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्लाका ४ वटा स्थानीय तहले आफ्नै पहलमा डाक्टरसहितको अस्पताल स्थापना गरेका हुन् ।

 

जिल्लामा पछिल्लो पटक थपिएका ४ मध्ये २ नगर र २ वटा गाउँपालिका अस्पताल हुन् । २०७५ साल असोजमा आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो भने २०७६ फागुनदेखि सानीभेरी गाउँपालिकाले गाउँपालिका अस्पताल सञ्चालनमा ल्याएको छ ।


२०७७ साल कात्तिकदेखि चौरजहारी नगरपालिकाले पनि सहिद स्मृतिनगर अस्पताल सञ्चालन गरिरहेको छ । त्रिवेणी गाउँपालिकामा पनि डाक्टरसहितको अस्पताल सुरु भएको छ । 


४ वटै स्थानीय तहले आफ्नै स्रोत-साधन प्रयोग गरेर अस्पताल सञ्चालनमा ल्याएका हुन् । आठबीसकोटको वडा नम्बर ९ राडीमा नगर अस्पताल छ । सानीभेरीले ७ नम्बर वडाको छोटेबगरमा गाउँपालिका अस्पताल सञ्चालन गरेको छ ।


चौरजहारीले १० नम्बर वडाको खोलागाउँमा नगर अस्पतालबाट सेवा प्रवाह गरिरहेको छ भने त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडाबाट ग्राम अस्पतालले सेवा दिँदै आएको छ । मुसीकोट नगरपालिकामा यसअघि नै जिल्ला अस्पताल छ भने केही निजी अस्पताल पनि सञ्चालनमा छन् । बाँफिकोट गाउँपालिका पनि अस्पताल बनाउने योजनामा छ ।


हरेक नगरपालिकामा २५ र गाउँपालिकामा १५ शय्याको अस्पताल बनाइनेछ । ६ स्थानीय तहमा ७३ वडा छन् । मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा १४, सानीभेरीमा ११, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा १०/१० वडा छन् ।


यीमध्ये पहिल्यै २८ वडामा प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी थिए भने बाँकी ४५ वडामा स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवा कार्यालय स्थापना गरेको हो । मुसीकोट नगरपालिकाका ३, ७, ९, ११ र १४ नम्बर वडामा यसअघि नै स्वास्थ्य चौकी थिए । बाँकी ९ वडामा नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर नागरिकलाई सेवा दिइरहेको छ ।


मुसीकोटले ६ नम्बर वडाको झुल्खेतमा प्रयोगशाला पनि स्थापना गरिसकेको छ । चौरजहारीका ५, ७, ६, ११ र १४ नम्बर वडामा यसअघि नै स्वास्थ्य चौकी थिए भने बाँकी ९ वडामा नगरपालिकाले आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरेर सेवा दिँदै आएको छ ।


बाँफिकोटका २, ४, ६ १० वडामा यसअघि नै स्वास्थ्य चौकी थिए भने अरू ६ वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना गरिएको छ । सानीभेरीका १, ४, ६, ९ र ११ नम्बर वडामा यसअघि नै स्वास्थ्य चौकी थिए भने बाँकी ६ वडामा गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।


त्रिवेणीका २, ४, ७ र १० नम्बर वडामा स्वास्थ्य चौकी थिए भने बाँकी ६ वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । बाँफिकोट गाउँपालिकाका स्वास्थ्य सह-संयोजक सुनिल केसी बाँकी ६ वडामध्ये केहीमा भवन निर्माण भइरहेको बताउँछन् । ‘३ नम्बर वडाको स्वास्थ्य भवन बन्दै छ भने अरू वडामा पनि निर्माण प्रक्रिया सुरु भएको छ,’ केसीले भने ।


मुसीकोट नगरपालिकाका स्वास्थ्य संयोजक मानबहादुर खत्री स्वास्थ्य सेवाबाट सर्वसाधारणलाई वञ्चित नगराउने गरी काम भइरहेको दाबी गर्छन् । आठबीसकोटमा २५ शय्याको अस्पताल सञ्चालनमा आइसकेको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । ‘यो अस्पताललाई व्यवस्थित बनाउन आधुनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, नगरप्रमुख केसीले भने ।


सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन पहिलेका स्वास्थ्य चौकीलाई गाउँपालिका अस्पताल बनाउने योजना रहेको बताउँछन् । तत्काल अस्पताल सञ्चालनमा ती भवन प्रयोग भए पनि अब ठूलो संरचनासहितको भवन बनाउन १८ करोड रुपैयाँको बहुवर्षीय योजना परिसकेको उनले जानकारी दिए ।