close

इन्द्रावतीमा आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा

इन्द्रावतीमा आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- नजिकै चिकित्सकसहितको अस्पताल नभएकै कारण समस्या झेलेका सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका आसपासका नागरिकले अब गाउँमै आधुनिक स्वास्थ्य उपकरणबाट सेवा पाउने भएका छन् ।

 

नवलपुरस्थित नवलपुर स्वास्थ्य चौकी स्तरोन्नतिपछि १५ शय्याको प्राथमिक अस्पतालमा परिणत गरिन लागिएसँगै यहाँका बासिन्दाले आवश्यक चिकित्सकसहितको स्वास्थ्य सेवा पाउने भएका हुन् ।


अस्पतालका लागि निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेकाले आउँदो वैशाखमा उद्घाटन गरी अस्पतालबाट सेवा प्रवाह गरिन लागेको छ । 

 

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको उक्त स्वास्थ्य चौकीमा हाल प्राथमिक उपचार, प्रसूति सेवा मात्र हुने भएकाले स्थानीय जटिल उपचारका लागि सदरमुकाम चौतारा, काभ्रेको धुलिखेल र काठमाडांैका अस्पतालमा जानुपर्ने बाध्यता छ ।


स्वास्थ्य केन्द्र अस्पतालमा परिणत भएसँगै यहाँबाट आवश्यक भौतिक पूर्वाधार, चिकित्सक, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्य सेवा प्रदान हुनेछ । सबै स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार नवलपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो ।


स्वास्थ्य चौकी अस्पतालमा परिणत हुने भएसँगै स्थानीयमा खुसियाली छाएको छ । अस्पताल बनेपछि सेवासुविधा थप हुने भएकै कारण गाउँमै थप उपचार पाउने भएपछि गाउँबासी उत्साहित भएका हुन् ।

 

गाउँपालिकाका अनुसार अस्पतालमा परिणत गरिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भवन निर्माण तीव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । 

 

सदरमुकामबाट २० किलोमिटरको दूरीमा रहेको स्वास्थ्य चौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षाैंदेखि सास्ती भोग्दै आएको अध्यक्ष तामाङले बताए ।

 

गाउँपालिकाबासीलाई स्वास्थ्य चेतना बढाउन विभिन्न कार्यक्रम गरिँदै आएको प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको भनाइ छ । अहिलेको स्वास्थ्य केन्द्रबाट यहाँ दैनिक ३० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । 

 

ग्रामीण क्षेत्रमा स्वास्थ्य स्थिति कमजोर रहेकाले चाँडै अस्पताल सञ्चालनमा ल्याएर नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गरिने अधिकृत पौडेलको भनाइ छ । यसबाहेक अहिले गाउँपालिकाभर ५ वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा छन् ।