close

सिटामोल नपाइने गाउँमा हुन थाल्यो शल्यक्रिया

सिटामोल नपाइने गाउँमा हुन थाल्यो शल्यक्रिया

Trulli
ADVERTISEMENT

कालीकोट– कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर ८ का पंखे रोकायालाई महिनौँ दिन लगाएर खाने ढिकेनुन ल्याउन बर्दियाको राजापुर जानुपर्थ्याे । 

 

गाउँमा व्यथा बिमार लागे २ दिनको पैदल बाटो हिँडेरै सदरमुकाम मान्मको जिल्ला अस्पतालमा औषधी उपचार गर्नुपर्ने बाध्यता थियो । समयमै पुगे ज्यान जोगिन्थ्यो भने नपुगे बाटोमै ज्यान गुमाउनुपथ्र्यो ।

 

सामान्य बिरामी पर्दा सिटामोलसमेत नपाइने दुर्गम पलाँता गाउँमा शल्यक्रिया हुन थालेपछि रोकाया मात्र होइनन्, यस गाउँका स्थानीय दंग छन् । रोग, भोग र अशिक्षाले थालिएको पलाँतामा जटिल खालका बिरामीको शल्यक्रिया हुन थालेको हो ।


गाउँपालिकाको थिर्पुमा रहेको पालिका अस्पतालमा टाउकाको शल्यक्रिया सफल भएको छ । यही ठाउँमा पहिला सिटामोल समेत पाइन्नथ्यो । अहिले शल्यक्रिया हुन थालेको हो ।

 

‘जस्तोसुकै बिरामी लागे पनि ज्यान जोगिने भयो’, पलाँता गाउँपालिका वडा नम्बर ९ का स्थानीय परेकबहादुर भण्डारीले भने, ‘यही रैछ, सिंहदरबार भनेको बल्ल थाहा भयो । व्यथा बिमार लागे घरेलु उपचारबाहेक अरू केही थिएन । वनमा जडीबुटीको भरमा बस्नुपर्ने बाध्यता थियो । अब गाउँमै जस्तोसुकै उपचार पाउने भयौँ ।’

 

परेक मात्र होइनन्, स्थानीय वीरबहादुर बम औषधोपचार नपाएर गाउँमै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था हटेकामा औधी खुसी छन् । ‘अहिले गाउँमै जटिल खाले बिरामीको शल्यक्रिया हुन थालेको छ । बिराम लागिहाले पनि बाँचिने भइयो’, बमले खुसी साटे ।

 

पलाँता अस्पतालका डा. विजयकुमार महतोका अनुसार रोकाया १ वर्षदेखि आर्थिक अभावमा रोग पालेरै घरमा बसेका थिए । ‘उनको टाउकोमा खटिरा भएर क्यान्सर हुने अवस्था थियो । समयमै गाउँमै सफल शल्यक्रिया गर्न सफल भयौँ’, डा. महतोले भने, ‘सामान्य व्यथा बिमार लाग्दासमेत सिटामोलसमेत पाउने अवस्था थिएन । अहिले जटिल खाले बिरामीको शल्यक्रिया हुन थालेको छ ।’ 

 

अब गाउँमै दक्ष चिकित्सकसहितको सेवा सञ्चालन हुँदा व्यथा बिमार लागेर कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था हटेको डा. महतो सुनाउँछन् । सरकारले हरेक स्थानिय तहमा १५ शय्याको अस्पताल सञ्चालन गर्ने अनुमति दिए पनि यहाँका स्थानीय तहले ४ वर्ष पुग्न लाग्दासमेत सेवा सुरु गर्न सकेका छैनन् ।

 

केही स्थानीय तहमा भर्खरै अस्पतालको शिलान्यास गर्दै छन् । पलाँताले भने पहिलो वर्षबाटै १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएर सेवा दिइरहेको छ ।