close

भारतमा कोरोना संक्रमण फैलिएपछि दैलेखका नाकामा कडाइ, ब्युँताइँदै क्वारेन्टाइन 

भारतमा कोरोना संक्रमण फैलिएपछि दैलेखका नाकामा कडाइ, ब्युँताइँदै क्वारेन्टाइन 

Trulli
ADVERTISEMENT

दैलेख– भारतमा कोरोना महामारीको संक्रमण बढेसँगै त्यहाँबाट नेपाली आउने क्रम सुरु भएको छ । भारतमा रोजगारीका गएकाहरू धमाधम फर्किन थालेपछि दैलेख प्रवेश गर्ने विभिन्न नाकामा जिल्ला प्रशासनले कडाइ गरेको छ । कामको खोजीमा भारत गएकाहरू चैते दसैँ मान्न घर फर्कने क्रम बढेसँगै नाकामा कडाइ गरिएको हो । 

 

जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दैलेख प्रवेश गर्ने गुराँस गाउँपालिकाको गुराँस नाका र तल्लो ढुंगेश्वरमा हेल्थ डेस्क स्थापनासँगै चेकजाँचलाई कडाइ गर्ने भएको छ । दुवै नाकाबाट यातायातका साधनमार्फत कर्णाली प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला र मुगु जाने बढी हुने गरेका छन् । 

 

बैठकले सबै सार्वजनिक निकायमा अनिवार्य मास्क प्रयोग गर्ने, जिल्लामा यसअघि व्यवस्थापन गरिएका क्वारेन्टाइन पुनः स्थापनाका लागि तयारी थाल्ने, आइसोलेसन नभएका स्थानीय तहले पुनः व्यवस्थापन गर्ने, होलीलगायत विभिन्न पर्वमा हुने जमघट न्यून गर्ने, भेला समारोहमा भीड जम्मा नगर्ने, नगराउने, दैलेखका ११ वटै पालिकामा भारतलगायत मुलुकबाट आउने नागरिकलाई पुनः सुरक्षित रूपमा बस्न आग्रह गरिएको छ ।

 

यस्तै, मास्क लगाउन आग्रह गर्ने, वडा–वडामा आएका नागरिकको लगत संकलन गरेर जिल्ला प्रशासनमा पठाउन कार्यालयले आग्रह गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । 

 

भारतबाट दैलेख आउने नागरिकमार्फत कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई लक्षित गरेर एन्टिजिन किडमार्फत चेकजाँच तत्काल थालनी गर्ने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । दैलेखमा हालसम्म १ हजार ४ सय ९८ जना कोरोना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको र १ हजार ४ सय ९२ जना निको भएको रेग्मीले बताए ।