close

एकै पटक सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

एकै पटक सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखको नारायण नगरपालिका वडा नम्बर ५ धिताहामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा एकै पटक सयौँ विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द गरिएको छ । एकाएक विद्यार्थी बिरामी हुन थालेपछि ३ दिनका लागि विद्यालय बन्द गरिएको हो ।

 

बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा मौसम परिवर्तनसँगै रुघा, खोकी र ज्वरो आएर विद्यार्थी बिरामी परेपछि आपतकालीन रूपमा बन्द गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । 

 

विद्यार्थी बिरामी भएको खबर जिल्ला अस्पताल दैलेख पुगेपछि डा. विवेक गुरुङ नेतृत्वको टोलीले सो क्षेत्रमा पुगेर उपचार गराइरहेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।

 

आइतबार, सोमबार र र मंगलबार लगातार ३ दिनसम्म विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा ३ दिनका लागि बन्द गरिएको विद्यालय प्रशासनले बताएको छ ।

 

‘गाउँमा बालबालिका बिरामीको संख्या धेरै भएको खबर आएपछि स्वास्थ्य सेवा कार्यालय दैलेखबाट खटिएर चेकजाँच र औषधी वितरण गरिरहेका छौँ’, डा. गुरुङको भने । 

 

विद्यार्थीलाई आराम आवश्यक भएको र रुघाखोकीको समस्या देखिएपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विद्यालय बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले बताए ।

 

भारतबाट दैलेख आउने नागरिकको संख्या पुनः बढ्दै गएका कारण सामान्य रुघाखोकी लागे अनिवार्य मास्क प्रयोग गर्ने र तातोपानी सेवन गरेर सुरक्षित रहन स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ । 

 

दैलेखको बेलपाटा प्राविमा पनि छात्रा विद्यार्थी एकाएक ढल्न थालेपछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ । मानसिक रूपमा तनाव बढेपछि विद्यालय बन्द गरिएको हो । बेलपाटामा पनि स्वास्थ्यकर्मीको टोली खटिएको छ ।