close

संखुवासभामा ब्लड बैंक स्थापना हुँदै

संखुवासभामा ब्लड बैंक स्थापना हुँदै

Trulli
ADVERTISEMENT

संखुवासभा- संखुवासभामा एउटा सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् । तर, अहिलेसम्म जिल्लामा ब्लड बैंक स्थापना हुन सकेको छैन । 

 

ब्लड बैंक स्थापना गर्न हालै मात्र विभिन्न संघ-संस्थाले सहयोग गरिरहेका छन् । खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा समाज यूकेले आर्थिक सहयोग गरेको छ ।

 

पूर्वगोर्खा सैनिक रहेको संखुवासभा समाज यूकेले नेपाल रेडक्रस सिर्जनशील सामुदायिक रक्त सञ्चार सेवालाई ६ लाख ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

 

गोर्खा वेलफेयर संखुवासभामा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरियो । 

 

संखुवासभा समाज यूकेका रमेश राईले ब्लड बैंक स्थापनामा सक्रिय संस्था सिर्जनशील सामुदायिक विकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत र रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोज वज्राचार्यलाई सहयोग रकम हस्तान्तरण गरे ।

 

ब्लड बैंक स्थापना गर्न सिर्जनशील सामुदायिक विकास केन्द्रले विभिन्न अभियान सञ्चालन गरेर रकम संकलन गरिरहेको केन्द्रका अध्यक्ष बस्नेतले बताइन् ।

 

ब्लड बैंक स्थापनाका लागि हालसम्म २३ लाख ४७ हजार २ सय ५४ रुपैयाँ रकम संकलन भइसकेको छ । नेपाल रेडक्रस सोसाइटीले २०५३ मा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गरे पनि यहाँ ब्लड गु्रप छुट्याउने काम मात्र हुने गरेको छ ।

 

बिरामीको उपचार गर्न आफन्तले रगत खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।  

 

बिरामीलाई तत्कालै रगत चाहियो भने अहिले सेना र प्रहरीले रगत दिने गरेका छन् । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि लाखौँ रुपैयाँ खर्चिएर अन्यत्रै लैजानुपर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटीका कार्यालय प्रमुख लक्ष्मी कार्कीले बताइन् । 


प्रमुख कार्कीले भनिन्, ‘अहिले हाम्रो ब्लड बैंक भनेको सेना र प्रहरी हुन् । तर, सेना र प्रहरी पनि भनेको समय उपस्थित हुन नसक्दा समस्या छ ।’