close

तुलसीपुरमा ‘बालीदेखि थालीसम्म पोषण’ 

तुलसीपुरमा ‘बालीदेखि थालीसम्म पोषण’ 

Trulli
ADVERTISEMENT

दाङ– दाङको तुलसीपुर उपमहानगरले कुपोषण दरलाई कम गर्र्ने नीतिगत योजना बनाएको छ । ३ वर्षदेखि कुपोषण दर घटाउँदै आएको उपमहानगरले योजनै बनाएर पोषणका गतिविधि अगाडि बढाएको हो । 


हाल रहेको कुपोषणको अवस्थालाई न्यूनीकरण गर्दै लैजाने र क्रमिक रूपमा कुपोषण मुक्त नगरका रूपमा स्थापित गर्ने रणनीतिक योजना निर्माण गरिएको उपमहानगरको स्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

 

पहिलो चरणमा वडा नम्बर ११ लाई पोषणमैत्री वडा घोषण गर्ने तयारी गरिएको जानकारी उनले दिए । पोषणमैत्री स्वास्थ्य संस्था बनाउने, पोषण कर्नर स्थापना गर्ने, बालीदेखि थालीसम्म पोषण समृद्धि गर्ने योजना बनाएर कार्यान्वयनमा जान थालेको उनको भनाइ छ । 

 

अहिले तुलसीपुरको टरिगाउँ स्वास्थ्य चौकी र मानपुर स्वास्थ्य चौकीमा अति शीघ्र कडा कुपोषण भएका बालबालिकाको उपचार भइरहेको छ । यी २ स्थानमा ३ वर्षमा १ सय ३० जना कुपोषित बालबालिकाको उपचार भइसकेको छ ।

 

यो वर्षदेखि वडा नम्बर ९ को दोघरे नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गर्ने योजना रहेकोे जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिए । हाल तुलसीपुरको कुपोषण दर ४ प्रतिशत छ, जुन ३ वर्ष पहिले ६ प्रतिशत थियो । 

 

त्यसैगरी २ वर्षमुनिका बच्चा तौलिने दरलाई बढाउने, स्वास्थ्य संस्थामा गर्भ जाँच, सुत्केरी सेवा तथा सुत्केरीपछि जाँच र आइरन फोलिक एसिड चक्की प्रयोगमा वृद्धि गर्ने, बालभिटाको नियमित प्रयोग दरलाई बढाउने, हरेक घरमा कम्तीमा ६ थरी फलफूल लगाउन प्रोत्साहन गर्ने योजना छ ।

 

जंगली खाद्यवस्तु प्रयोगमा वृद्धि गर्ने, विद्यालयमा आइरन फोलिक एसिड चक्की प्रयोग, दिवा खाजाको प्रभावकारिता, सरसफाइ, सुरक्षित खानेपानीमा जोड दिन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अगाडि बढाउने नीति लिइएको छ । 

 

हरेक वडा तथा स्वास्थ्य संस्थामा पोषण समृद्धि सचेतनामूलक ब्यानर, पोस्टर राख्ने र कुपोषणको दरलाई कम गर्ने, खानपानसम्बन्धी व्यवहार परिवर्तनका लागि सचेतना फैलाउने कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने लक्ष्य लिइएको केसीले बताए ।

 

पोषणको मापदण्ड पूरा गरेर नगरमा अहिले रहेको ४ प्रतिशत कुपोषण दरलाई न्यूनीकरण गरेर शून्यमा झार्ने योजना छ । उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजना तथा सुहारा वेस दाङको प्राविधिक सहयोगमा २ दिने पालिकास्तरीय पोषण समीक्षा गोष्ठी अपवसरमा यस्ता योजना अगाडि सारिएको हो । 

 

महिला तथा बालबालिका, सरोकारवाला निकाय, १९ वटै वडाका स्वास्थ्य संस्था प्रमुख तथा पोषण फोकल पर्सन, निजी तथा सरकारी अस्पताल, आयुर्वेद अस्पताल, जनप्रतिनिधिलगायतको उपस्थितिमा तुलसीपुर उपमहानगरको गत आवको पोषणसम्बन्धी कार्यक्रम र त्यसको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

 

कार्यक्रममा उपमहानगर प्रमुख घनश्याम पाण्डेले जंगलीजन्य खाद्यवस्तु स्वास्थ्यका दृष्टिले पोषिलो रहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने र नगरका हरेक वडालाई पोषणमैत्री वडा बनाउने योजना रहेको जानकारी दिए ।

 

उपप्रमुख माया शमााले हरेक गर्भवती सुत्केरी तथा बच्चा, ज्येष्ठ नागरिकको खानपानमा ध्यान दिन सके नियमित औषधी सेवन गर्न नपर्ने बताइन् ।

 

प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले हरेक विद्यालयमा विद्यार्थीलाई दैनिक खाने खानाको सूची तयार पार्न लगाएर बालबालिका र घरपरिवारको खानाको अभ्यास थाहा पाउन सकिने हुँदा त्यसबाट पोषणको लेखाजोखा गर्न सहज हुने बताए ।