close

५ महिनाअघि जोडिएको आइसियु मेसिन जनशक्ति नहुँदा अलपत्र

५ महिनाअघि जोडिएको आइसियु मेसिन जनशक्ति नहुँदा अलपत्र

Trulli
ADVERTISEMENT

दार्चुला- कोरोनाको दोस्रो कहर सुरु भएको छ । भारतबाट दैनिक सयौँको संख्यामा दार्चुलाबासी पनि भित्रिइरहेका छन् । सीमा नाकामा सामान्य चेकजाँचको व्यवस्थासमेत छैन ।

 

अस्पतालमा चेकजाँच गर्ने डाक्टर छैनन् भने जडान गरिएका उपकरण चलाउने जनशक्ति खोजिएको छैन । भारतसँग सीमा जोडिएको जिल्ला अस्पताल दार्चुलाको अवस्था दयनीय छ । 

 

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले २५ मंसिर २०७७ मा जिल्ला अस्पताल दार्चुलामा उद्घाटन गरिएको भेन्टिलेटर शय्यासहितको आइसियु अझै सञ्चालनमा आएको छैन । जडान गरिएको ५ महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसियु प्रयोगमा नआएको हो ।

 

प्रदेश सरकारबाट प्राप्त २ वटा भेन्टिलेर शय्यासहित आइसियु कक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसियु स्थापना गरेको थियो । 

 

कोभिड-१९ का संक्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएका आइसियुका लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेश सरकारले ५ महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो ।

 

५ महिनाअघि नै जडान गरिएको आइसियु दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल दार्चुलामा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले बताए । अहिले आइसियु चलाउन सक्ने जनशक्ति छैन । 

 

‘आइसियु सञ्चालन गर्न दक्ष डाक्टर चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसियु प्रयोगमा ल्याउन सकिएको छैन’, विष्टले भने ।

 

गत मंसिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसियु कक्षमा उपकरण जडान गरिएको थियो । तर, विशेषज्ञ जनशक्ति अभावमा आइसियु कक्ष सञ्चालनमा ल्याउन नसकिएको विष्टको भनाइ छ ।

 

विशेषज्ञ चिकित्स अभावमा आइसियु कक्ष सञ्चालनमा ल्याउन सकिएको छैन । अहिले अस्पतालमा कार्यरत ४ जना डाक्टर बिदामा छन् । अस्पतालमै सामान्य चेकजाँचका लागिसमेत डाक्टर छैनन् ।

 

आइसियु कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसियु उद्घाटन क्रममा सरोकारवाला निकायले गम्भीर खालका विरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए ।

 

तर, ५ महिना हुँदा पनि आइसियु सञ्चालन भए-नभएकोबारे सरोकारवाला निकाय उदासीन बनेको स्थानीयको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसियुमा राख्नुपर्ने हुन्छ । तर, त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । 

 

‘पछिल्लो समय जिल्लाका १ जनामा कोरोना देखिएपछि अस्पतालमै राखिएको छ’, जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले भने, ‘बिरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ । जनशक्ति व्यवस्थापन गर्न सकिएको छैन ।’

 

भारतबाट अहिले दैनिक ८० देखि सय हाराहारी नेपाल भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांकअनुसार १० चैतयता दार्चुलाका खलंगा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर ३ हजार ३ सय २४ जना नेपाली घर फर्किएका छन् । 

 

प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलंगा नाका भएर १७८ महिला र १ हजार १४० जना पुरुष नेपाल भित्रिएका छन् । 

 

यस्तै, दत्तु नाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवि नाका भएर ११४ महिला र १ सय पुरुष तथा लाली नाका भएर १९६ महिला र ३१५ पुरुष नेपाल भित्रिएको प्रहरीको तथ्यांक छ । सदरमुकाम खलंगामा चेकजाँचको व्यवस्था गरिए पनि अन्य नाकामा यस्तो व्यवस्था छैन ।

 

जिल्ला अस्पतालका डाक्टर नभएपछि गोकुलेश्वरबाट ल्याएर उपचार

 

जिल्ला अस्पताल दार्चुलामा डाक्टर नहुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ । ४ जना कार्यरत रहेको जिल्ला अस्पतालका सबै डाक्टर जिल्लाबाहिर गएका छन् । अस्पतालमा डाक्टर अभाव हुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ । 

 

१ सातादेखि जिल्ला अस्पताल दार्चुलामा कार्यरत ४ जना डाक्टर नै जिल्लाबाहिर गएपछि अस्पतालमा बिरामीको चेकजाँचमा समस्या भएको छ । अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेन्ट र आठाँै तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ ।

 

अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको डाक्टर जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताए ।

 

अस्पतालमा हाल छात्रवृत्ति करारका डाक्टर आदर्श लिम्बु, पूजा बम र नीवन किशोर मल्ल कार्यरत छन् भने सुदूरपश्चिम प्रदेश सरकारले करारकै देवेन्द्र नेगीलाई पठाएको छ । 

 

प्रशासनका अनुसार अस्पतालका प्रमुख डा. आदर्श लिम्बु गत १८ चैतबाट काठमाडौंको गोष्ठीमा सहभागी हुन गएका छन् । यस्तै, पूजा बम र नवीन किशोर मल्ल शनिबारदेखि बिदा र प्रदेश गोष्ठीमा गएका छन् भने देवेन्द्र नेगी २२ चैतबाट बिदामा गएका हुन् । 

 

अहिले अस्पतालमा विरामी चेकजाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डाक्टर मियाज अन्सारीलाई बोलाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए । 

 

‘हामीले डाक्टर अभाव हुन दिएका छैनौँ’, सूचना अधिकारी भट्टले भने, ‘तर, १ जना डाक्टर सयौँ बिरामी हेर्नुपर्ने अवस्था छ ।’ अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । 


पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । १ जना मात्रै डाक्टर हुँदा बिरामीले अस्पतालमा घन्टौ कुर्नुपर्ने बाध्यता आएको छ ।