close

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव 

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- सुदूरपश्चिममा संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपछि अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ ।

 

अस्पतालले सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियु र एचडियुमा बिरामीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो । 

 

सूचनामा भनिएको छ, ‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौँ । यस्तो दिनसँग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौँ । तत्काल थप बिरामीलाई भर्ती गर्न नसक्ने अवस्था छ ।’ 

 

अस्पतालमा भएका बिरामी निको हुनेबित्तिकै नयाँ बिरामी भर्ना गरिने बताइएकोे छ । ‘अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्नेछौँ । बेड भए पनि अक्सिजन अभाव रहेको अस्पतालले बताएको छ ।

 

अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ । त्यसले दैनिक ११ जनालाई मात्रै अक्सिजन दिन सक्ने क्षमता छ । प्लान्टबाट दैनिक २७ सिलिन्डर भर्ने क्षमता भएको छ । 

 

११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सकिन्छ । तर, अहिले १६ जनालाई अक्सिजन दिइएको अस्पतालले बताएको छ । अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पुर्‍याउने व्यवस्था गरेको छ । डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड संक्रमित बिरामी छन् ।

 

तीमध्ये ३ जना भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ । अस्पतालमा आइसियु बेड ८ र एचडियु गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार छन् ।