close

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालय भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।  अस्पतालको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले गरेका हुन् ।

 

कार्यक्रममा ढकालले कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन नागरिकलाई आग्रह गरे । उनले जिल्ला प्रशासनले लागू गरेको निषेधाज्ञाको समेत पालना गर्नुपर्नेमा जोड दिए ।

 

ढकालले प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेको र थप कार्य योजनाका लागि सर्वदलीय बैठक राखेर अघि बढ्ने बताए । 

 

नगरप्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिन्डर, एउटा एक्सरे, ३ वटा प्यारामिटर थप भए ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने जानकारी दिए । 

 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना रोकथामका लागि सैनामैनाले जिल्लामै उत्कृष्ट कदम चालेको दाबी गरे ।

 

रूपन्देहीका १६ वटै पालिकाले यसको सिको गर्न जरुरी रहेको उल्लेख गर्दै कोरोनाबाट बच्न सबै सचेत हुनुपर्ने आवश्यकता उनीहरूले औँल्याए । 

 

विगतमा जस्तै यो वर्ष पनि कोरोनाको प्रकोप बढेसँगै नगरपालिकामा कोरोना अस्पताल स्थापना गरेर प्राकृतिक तरिकाले उपचार गर्ने व्यवस्था मिलाइएको नगर उपप्रमुख बिना रानाले जानकारी दिइन् ।

 

अस्पतालमा हाल ३ वटा मोनिटरयुक्त बेड, ५ वटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

 

अहिले अस्पतालमा १ जना विशेषज्ञ डाक्टर, १ जना हेल्थ असिस्टेन्ट, २ जना स्टाफ नर्स, ४ जना अनमी र १ जना अहेब कार्यरत रहेको नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीको भनाइ छ ।