close

आइसोलेसन निर्माणमा जुटे पाल्पाका स्थानीय तह

आइसोलेसन निर्माणमा जुटे पाल्पाका स्थानीय तह

Trulli
ADVERTISEMENT

पाल्पा- कोरोना संक्रिमतको संख्या दिनहुँ बढेसँगै पाल्पाका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण थालेका छन् । पालिकाहरूले गत वर्षजस्तो कोराना संक्रमणमा सक्रियता नदेखाएको गुनासो बढेपछि आइसोलेसन कक्ष धमाधम बनाएका हुन् । 

 

स्थानीय सरकारले १० देखि १५ शय्यासम्मका आइसोलेसन कक्ष निर्माण गरेका छन् । ८ वटा गाउँपालिकाले आफैँ आइसोलेसन कक्ष निर्माण गरे पनि तानसेन नगरपालिका र रामपुर नगरपालिकाले भने अस्तालहरूसँग सहकार्य गरेर आइसोलेसन बनाउन थालेको जनाएका छन् । 

 

वगनासकालीले १०, रिब्दीकोटले ५, पूर्वखोलाले १०, निस्दीले ५, माथागढीले १५, रैनादेवी छहराले ५, तिनाउले १०, रम्भाले १० शय्याका चिकित्सकसहितका आइसोलेसन कक्ष निर्माण गरेका छन् ।


रम्भा गाउँपालिकाले ताहुँ र हुँगीमा गरी १० शय्याको संक्रमित उपचार गर्न सकिने आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको र आवश्यकताअनुसार वडा स्तरमा अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिने पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

 

जिल्ला संकट व्यवस्थापन केन्द्र पाल्पाको बैठकले हरेक स्थानीय सरकारले कम्तीमा २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिएको छ ।

 

पालिकाहरूले आइसोलेसन बनाए पनि संक्रमित बिरामीको चाप निजी अस्पतालमै छ । आइसोलेसन कक्ष निर्माण गरे पनि पालिकाहरू रोकथामभन्दा उपचारमा केन्द्रित भएका गुनासो बढेको छ ।

 

गत वर्ष क्वारेन्टाइन निर्माण गरेर विदेशबाट आउने र शंकास्पदलाई क्वारेन्टाइनमा राखे पनि यो वर्ष त्यसमा ध्यान पुगेको छैन ।