close

जनशक्ति अभावले अलपत्र छन् कालिकाेट अस्पतालका ६ भेन्टिलेटर

जनशक्ति अभावले अलपत्र छन् कालिकाेट अस्पतालका ६ भेन्टिलेटर

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको कोभिड विशेष अस्पताल मान्ममा आवश्यक दक्ष जनशक्ति अभावले लाखौँ मूल्यका भेन्टिलेटरसहितको आइसियु सेवा प्रयोगमा आउन सकेको छैन । कोरोना महामारीमा पनि अत्यावश्यक उपकरणको सेवा प्रयोगमा नआउँदा भेन्टिलेटरसहितको आइसियुमा राख्नुपर्ने बिरामी जुम्लालगायत अन्य जिल्लामा रेफर गर्नुपरेको छ ।

 

‘पहिलो लहरको कोभिड संक्रमण फैलिने क्रममा ४ वटा भेन्टिलेटर जिल्ला अस्पतालका लागि आएका थिए । अहिले पुनः ४ वटा भेन्टिलेटर र आइसियु बेड आएको छ । कोभिड अस्पतालमा जोडेर राखेका छौँ । प्रयोगमा ल्याउन मात्र सकिएको छैन । जनशक्ति अभावका कारण प्रयोगमा ल्याउन सकेका छैनौँ’, अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक महतले भने ।

 

भेन्टिलेटर सञ्चालन गर्न नियमित बत्ती आवश्यक पर्ने भए पनि कालीकोटमा विद्युत् नियमित हुने गरेको छैन । जेनेरेटरबाट भेन्टिलेटर सञ्चालन गर्न सम्भव नभएको महत बताउँछन् ।

 

केही समय जेनेरेटर चलाएरै भए पनि जटिल अवस्थाका बिरामीलाई अक्सिजन दिइरहेको उनले दाबी गरे । ‘अबको १ सातामा सोलार खरिद गरेर बत्तीको व्यवस्था गर्ने छौँ । जनशक्ति प्रदेशले पठाए ८ वटै भेन्टिलेटरसहितको आइसियु सेवा सञ्चालन गर्ने तयारी छ’, महतले भने ।

 

अहिलेकै जनशक्तिले ८ वटै भेन्टिलेटरसहितको आइसियु बेड सञ्चालन गर्ने अवस्था नरहेको उनले जानकारी दिए । ‘आवश्यक जनशक्तिका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रमुख डा. मंगल रावलसँग माग गरेका छौँ । उहाँले यो समस्यालाई तत्काल हल गर्न १ जना भेन्टिलेटरसहितको आइसियु चलाउने स्टाफ नर्स र विशेषज्ञ डाक्टर पठाउँछु भन्नुभएको छ’, महतले भने ।

 

कोभिड अस्पतालमा अहिले २ वटा अक्सिजन सिलिन्डर मात्र छन् । प्रदेशबाट ३० वटा सिलिन्डर अर्डर गरेकामा गाडीमा लोड भइसकेको उनले बताए ।

 

‘जनशक्ति अभावले भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुन नसकेको कुरा जानकारी गराएपछि मुख्यमन्त्रीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. मंगल रावललाई भनेर तत्काल डाक्टर पठाउन निर्देशन भइसकेको छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले भने ।

 

उनका अनुसार कालीकोट, मुगु र कालीकोटकै रास्कोट अस्पतालमा १ जना डाक्टर पठाउन मुख्यमन्त्रीले आग्रह गरेको उनले बताए । उनले भने, ‘यस्तो महामारीमा पनि भेन्टिलेटरजस्ता उपकरण सञ्चालनमा नआउनु दुःखलाग्दो कुरा हो ।’

 

कोभिड अस्पतालमा ९ जना बिरामीलाई अक्सिजन दिइँदै आएको छ । २ जनालाई लामो समय अक्सिजन दिनुपर्ने र भेन्टिलेटरसहितको आइसियुमा राख्नुपर्ने भएकाले जुम्ला रेफर गरिएको डा. विज्ञान प्रजापतिले जानकारी दिए ।

 

‘कोभिड अस्पतालमै भेन्टिलेटरसहितको आइसियु सेवा सञ्चालन भए बिरामीलाई जुम्ला रेफर गर्नुपर्दैनथ्यो । जनशक्ति अभाव र बत्तीका कारण भेन्टिलेटरसहितको आइसियु बेड सञ्चालन गर्न सकिएको छैन,’ डा. प्रजापतिले भने ।

 

मुख्यमन्त्रीको गृहजिल्ला र उनले नै प्रदेशको सामाजिक मन्त्रालय सम्हालिरहेका बेला यस्तो अवस्था रहनु लालमर्दो भएको सरोकारवाला बताउँछन् ।