close

अक्सिजन प्लान्ट स्थापनामा जुट्दै दोलखाका स्थानीय सरकार 

अक्सिजन प्लान्ट स्थापनामा जुट्दै दोलखाका स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

दोलखा- सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधि घुम्ने मेचमाथि अन्धो मान्छेजस्तो भूमिकामा रहेको भन्दै चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्यास प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको पहलमा जनप्रतिनिधिसँग भएको छलफलपछि अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

 

३-३ पटक संघीय मन्त्री बनेका पार्वत गुरुङलाई बधाइ तथा शुभकामना दिँदा जनता बचाउन जिल्लामा अक्सिजन ग्यास प्लान्ट तत्काल राख अनि मात्र दोलखालीले मन्त्री भएकामा थप गर्व गर्नेछन् भनी सामाजिक सञ्जालमा आएपछि जनप्रतिनिधिले प्लान्ट निर्माणको निर्णय गरेका हुन् । 

 

केही जनप्रतिनिधि शुक्रबार २ बजेसम्म जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सम्भव छैन भन्ने तिनै जनप्रतिनिधि भने आइतबार नरम भए । 


यसअघि कोरानाका कारण दोलखाली दिनप्रतिदिन मृत्युको सिकार भएकाले तत्काल जिल्लामा एउटा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रस्ताव राख्दा अस्वीकार गर्ने जनप्रतिनिधिलाई सामाजिकमार्फत गिज्याइएको छ ।

 

डिसिसिएमसीकोे बैठकले जिल्लामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन सक्ने सुझाएपछि दोलखामै ग्यास प्लान्ट स्थापना गर्ने निर्णय भएको हो ।

 

स्थानीय सरकारका प्रमुखसहित सहभागी बैठकले चरीकोट अस्पतालमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्ने र त्यसका लागि जिल्लाका ९ वटै स्थानीय सरकारबाट १२ लाख रुपैयाँका दरले बजेट व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।


अक्सिजन ग्यास प्लान्ट स्थापनाका लागि प्रत्येक स्थानीय सरकारले चरीकोट अस्पतालमा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा यथासक्य चाँडो १२ लाख रुपैयाँका दरले रकम जम्मा गर्ने निर्णय भएको छ । ग्यास प्लान्ट स्थापना गर्न १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

‘दोलखाका केही स्थानिय तहले ७ महिनाअघि कोभिड नियन्त्रणका लागि २-२ दुई लाख रुपैयाँका दरले एकमुष्ठ कोषबाट खर्च गर्ने भनिए पनि हालसम्म धेरैले नबुझाएको अवस्था छ । अझ १२ लाख रुपैयाँ जम्मा गर्न कति वर्ष लाग्ने हो’, नागरिक अगुवा सुन्दरविक्रम कार्कीले भने ।

 

बैठकले कालिञ्चोक गाउँपालिकामा रहेको सिंगटी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ । हाल ३ जना डाक्टरसहितको स्वास्थ्यकर्मी रहेको सिंगटी अस्पताललाई कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकाका कोरोना संक्रमितलाई उपचार गर्ने उद्देश्यले कोडिभ अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।

 

पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । बिगु गाउँपालिमा ३ जनाको कोरोनाकै कारण निधन भएको छ । बैठकले जिल्लाका ७४ वटै वडामा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।