close

पिसिरआर रिपोर्ट ढिलाइले कोरोना नियन्त्रणमा चुनौती 

पिसिरआर रिपोर्ट ढिलाइले कोरोना नियन्त्रणमा चुनौती 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाइ हुँदा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ । म्याग्दीका ग्रामीण क्षेत्रमा पालिकाहरूले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन केही दिनयता ढिलाइ भएको हो । म्याग्दीमा संकलित नमुना पिसिआर परीक्षणका लागि पोखरा पठाउने गरिएको छ । 

 

लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेकाको नमुना संकलन गरेर पठाउने गरिएको छ । तर, नतिजा आउन धेरै ढिलाइ हुन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 


दरवाङको छ्यारछ्यारेमा २० शय्या क्षमताको आइसोलेसन बनाएको मालिकाले कोरोना संक्रमित खोज्न सबै वडामा पुगेर लक्षण देखिएकाको स्वाबको नमुना संकलन गर्ने कार्यक्रम बनाएको स्वास्थ्य संयोजक सन्तु कार्कीले जानकारी दिइन् । 

 

कतिपय संक्रमितलाई कोरोनाको लक्षण देखिन छोडेपछि नतिजा आएको अवस्था छ । करिब ५०० सय बढी नमुनाको नतिजा आउन बाँकी छ । धवलागिरि गाउँपालिका वडा नम्बर ७ धारापानीका ओमप्रकाश केसीले लक्षण देखिएकाहरू पनि पिसीआर परिक्षण गर्नै नमान्ने र नमुना दिएकाहरू होम आइसोलेसनमा नबसिदिँदा कोरोना नियन्त्रणमा चुनौती देखिएको बताउँछन् । 

 

‘स्वास्थ्य मापदण्ड पालना गरेर घर बस्नुपर्नेहरू जमघट गर्ने, गाउँ डुल्नेजस्ता गतिविधि भइरहेका छन्’, उनले भने, ‘लक्षण देखिएकालाई सम्झाइ-बुझाइ गर्दासमेत नमुना दिनै नमान्दा समस्या बढाएको छ ।’

 

धवलागिरिका संक्रमित ताकम र लुलाङका धेरै छन् । गत वर्षको बन्दाबन्दीमा सक्रिय भएका टोल सुधार समिति, युवा क्लब, आमा समूहहरू यसपालि महामारी फैलिए पनि तुलनात्मक रूपमा कम परिचालन भएका छन् । केही ठाउँमा भने समुदाय अग्रसर भएका छन् । 


यो वर्ष स्वयंसेवकको रूपमा भत्ता दिने व्यवस्था नभएकाले विशेषगरी युवा क्लब कोरोना रोकथाममा सक्रिय नभएको टिप्पणी हुन थालेको छ । त्यसो त, स्वयंसेवामा खटिने समुदाय आफैं जोखिमको डरले पनि सक्रिय हुन सकेका छैनन् । 

 

केही ठाउँमा समुदायले बेवास्ता गर्दा कोरोना नियन्त्रणको जिम्मेवारी सुरक्षा निकाय र पालिकाका जनप्रतिनिधिको मात्रै भएजस्तो देखिएको छ । प्रयोगशालाको क्षमता र जनशक्ति कम भएका कारण पिसिआर नतिजा आउन ढिलाइ भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


यसैगरी केही ठाउँमा स्वाबको नमुना संकलन प्रक्रिया र मापदण्ड पूरा नभएकाले पनि परीक्षणमा ढिलाइ भएको बागलुङको धौलागिरि अस्पतालले जनाएको छ । अस्पतालले आइतबार सूचनै जारी गरेर स्वाब संकलनको मापदण्डका विषयमा स्वास्थ्यकर्मीलाई ध्यानाकर्षण गराएको छ । 


वडा कार्यालयले बनायो विपद् कोष

 

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङको वडा कार्यालयले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । कोरोनालगायत महामारी र विपद् अवस्थामा अप्ठेरो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिले ५५ हजार रुपैयाँ जम्मा गरेका छन् । 


कोरोना संक्रमित विपन्न नागरिकको उपचारमा सघाउन, अस्पताल पुग्न यातायात सुविधा उपलब्ध गराउन, स्वास्थ्य सामग्री व्यवस्थापन, निषेधाज्ञाबाट प्रभावित भएका निम्न वर्गका नागरिकलाई राहत, बाढीपहिरोपीडितको आवास पुनर्निर्माण र विपन्न बालबालिकाको शिक्षाका लागि स्थापित कोषमा सहयोग गर्न वडा कार्यालयले अपिल गरेको छ । 

 

कोषमा वडाध्यक्ष सन्तोष सुवेदीले १५ हजार, कार्यपालिका सदस्य गौमत चपाई, वडा सदस्य पथबहादुर रोका, कर्ण रोका र विष्णु सुनारले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।