close

पीसीआरको पनि शुल्क लिन्छ सरकारी अस्पताल 

पीसीआरको पनि शुल्क लिन्छ सरकारी अस्पताल 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- अमरगढी नगरापालिका–५ का गणेशबहादुर मगर बैशाख ३१ गते डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण गर्न गए । उनीबाट अस्पतालले कोरोना जाँच गराउनु भन्दा अघि एक हजार रूपैयाँको बिल थमाइ दियो । उनले एक हजार तिरेर स्वाव दिए  ।

 

उनी एक उदाहरण मात्र हुन् । अस्पतालले उनीजस्तै अन्य नागरिकहरुबाट समेत एक हजार रुपैयाँ लिइरहेको छ । ‘मलाई कोरोनाको लक्षण थियो । कन्ट्याक्ट ट्रेसिङमा पनि परेको थिएँ । मेरो घरका अन्य व्यक्तिलाई पनि कोरोना देखिएको थियो,’ मगरले भने ।

 

कोरोना जचाउँदा उनलाई पोजेटिभ देखाएको छ । उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।  सरकारले नलिनु भनेको शुल्क अस्पतालले लिइरहेकाले गरिब जनता यसको मारमा परेको उनको भनाइ छ । आफ्नो टोलका दुईजना भने एक हजार रुपैयाँ तिर्न नसकेर अस्पतालबाट फिर्ता भएको उनी बताउँछन् ।

 

यसका साथै अस्पतालले बिल काट्दा डिस्काउन्टमा पैसा देखाएर पनि शुल्क लिइरहेको पाइएको छ । अस्पतालले मगरलाई दिएको बिलमा डिस्काउन्टमा हजार रुपैयाँ देखाएको छ । तर, उनीबाट पैसा पनि लिएको छ ।

 

‘अस्पतालले मैले दिएको हजार रुयैयाँ डिस्काउन्टमा देखाएको छ । यसरी पनि अस्पतालले नागरिकहरुबाट पैसा लिइरहेको छ,’ मगरले भने, ‘यसले गरिब जनतालाई लुट्ने काम भयो । महामारीमा यस्तो नगर्नुपर्ने हो ।’

 

कोरोनाका सबै लक्षण भएका व्यक्तिहरुबाट शुल्क लिन थालेपछि यहाँका सर्वसाधारणले अस्पतालको चर्को आलोचना समेत गरिरहेका छन् । अमरगढीका प्रशना जोशीबाट पनि मंगलबार एक हजार शुल्क लिएको छ ।

 

मन्त्रालयको निर्णय लत्याउँदै

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको कोरोना रोकथामका लागि बैशाख २६ गतेको बैठकले पीसीआर शुल्क नलिन सबै सरकारी प्रयोगशालालाई निर्देशन दिएको छ ।

 

देशभरका सबै सरकारी प्रयोगशालाहरूबाट लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका कन्ट्याक्टहरूको कोभिड–१९ निःशुल्क हुने भन्दै आइसीएस बैठकले परिपत्र गरेका छ । तर, डडेल्धुरा अस्पतालले भने कोरोना जाँच गरेवापत शुल्क लिइरहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय लत्याउँदै अस्पतालले पीसीआर शुल्क बापत पटक–पटक एक हजार रुपैयाँ लिइरहेको हा े। तर, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्टेन्ट जगदीशचन्द्र विष्टले कोरोना लक्षण भएका र चिकित्सकले पीसीआर गर्न सुझाएका बिरामीको शुल्क नलिने गरेको दाबी गर्छन् ।

 

‘चिकित्सकले पिसिआर गर्नुपर्छ भन्यो भने हामी ती बिरामीबाट कोरोनाको शुल्क लिदैनौं । तर, गाइडलाइनमा नभएकाहरुको चाहिँ हामीले लिने गरेका छौँ,’ निमित्त मेसु विष्टले भने, ‘अलि अगाडिसम्म लक्षण हुनेलाई तिराएको होला तर, परिपत्र आएपछि तिराएका छैनौं ।’

 

रिपोर्ट आउन हप्ता दिन कुर्नु पर्ने बाध्यता 

 

जनस्तर बाट चन्दा संकलन गरी ह्युम्यानिटी फाउन्डेसन नेपालले गत वर्षको असारमा पीसीआर मेसिन अस्पताललाई दिएको थियो । 

 

सोही मेसिनबाट हाल कोरोना परीक्षण भइरहेको छ । तर, अस्पतालले पीसीआर जाँच गर्न ढिलाइ गर्दा समुदायमा कोरोना फैलिने चिन्ता बढेको छ । अस्पतालले आफूले संकलन गरेको नमूना परीक्षण सोही दिन र स्थानीय तहबाट संकलन गरिएको नमूना परीक्षणको रिपोर्ट एक हप्तासम्म ढिला गरिरहेको छ ।

 

डडेल्धुराको अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले डडेल्धुरा अस्पतालको कोरोना ल्याबमा रिपोर्ट ढिलो आउँदा आक्रोश पोखेका छन् । उनले ल्याबको लापरबाही हो कि क्षमता कम कन्फ्युज भैरहेको छु? प्रश्न गरे ।