close

चरीकोट अस्पतालमा ४३ बेडको आइसोलेसन र १२ बेड एचडियु तयार

चरीकोट अस्पतालमा ४३ बेडको आइसोलेसन र १२ बेड एचडियु तयार

Trulli
ADVERTISEMENT

दोलखा– चरीकोट अस्पतालमा ४३ बेडको आइसोलेसन १२ बेड एचडियु तयारी अवस्थामा रहेको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि चरीकोट अस्पतालले यस्तो व्यवस्था गरेको हो । शनिबार चरीकोट अस्पतालमा ३० जना कोरोनाका बिरामी रहेकामा २२ जना आइसोलेसन र ८ जना एचडियुमा रहेका अस्पतालका प्रमुख डा. विनोद दंगालले जानकारी दिए । 

 

दोस्रो लहरको कोरोना महामारीको रूपमा फैलिएपछि दोलखाका सरकारी अस्पताललाई कोरोना अस्पतालको रूपमा विकास गरिएको
छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेका बेला जिल्ला सदरमुकामस्थित चरीकोट अस्पताल कोभिड अस्पतालको रूपमा विकास भएको कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित सिंगटी अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरिएको छ ।

 

शुक्रबार मात्रै अर्थ मन्त्रालयले कोभिड अस्पतालका लागि चरीकोट अस्पताललाई १ करोड ५५ लाख, जिरीमा ८० लाख रकम विनियोजन गरेको छ । चरीकोट अस्पतालमा थप एचडियु विस्तार हुनेछ भने अक्सिजन प्लान्ट खरिद तथा जडान गरिने अस्पताल प्रमुख डा. दंगालले बताए । 

 

प्रादेशिक अस्पतालको रूपमा रहेको चरीकोट अस्पतालले दोलखाका अलावा छिमेकी जिल्लाका कोरोना संक्रमित बिरामीलाई समेत उपचार सेवा दिइरहेको छ । 

 

यसअघि कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराउँदै आएको चरीकोट अस्पतालले हाल जिल्लाका नागरिकको स्वाब परीक्षण संक्रमण भए–नभएको पिसिआर रिपोर्ट निकाल्ने काम गरिरहेको छ ।

 

चरीकोट अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिनसहितको ल्याबमा हाल दैनिक १०० जना मानिसको कोरोना परीक्षण गरेको अस्पताल प्रशासनले जनाएको छ । 

 

हाल १० बेडको आइसोलेसन सञ्चालन आएको जिरी अस्पतालले पनि सरकारबाट ८० लाख रुपैयाँ बजेटबाट अत्यावश्यक उपकरण जडान तथा ५ बेडको एचडियु विस्तार गर्ने जनाएको छ । जिरी नगरपालिका मातहत रहेको जिरी अस्पताल र गाउँपालिकाद्वारा सञ्चालित बैतेश्वर अस्पतालमा पनि १०–१० बेडको आइसोलेसन तयारी अवस्थामा छ ।

 

बैतेश्वर अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने तामाकोसी गाउँपालिकामा पनि तामाकोसी अस्थायी अस्पताल सञ्चालनमा छ । वडा नम्बर ४ को मालु डाँडागाउँमा रहेको अस्पतामा ५ बेडको आइसोलेसन छ ।

 

हाल अस्पताल आइसोलेसनमा ३ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको र इमर्जेन्सीमा ८ जनासम्मलाई राखेर उपचार सेवा दिइने गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिए । 

 

जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयअनुसार सिंगटी अस्पताललाई कोराना अस्पतालको रूपमा विकास गरी अस्पतालमा २५ बेडको आइसोलेसन स्थापना गरिएको छ । 

 

कालिञ्चोक, गौरीशंकर बिगु गाउँपालिकाका नागरिकलाई लक्षित गरी सिंगटी अस्पताललाई अस्पतालको रूपमा विकास गरिएको छ । अस्पतालमा २५ बेडको आइसोलेसन तयारी अवस्थामा छ भने ४ जना डाक्टर, २८ जना स्वास्थ्यकर्मीसहितका कर्मचारी छन् ।