close

कोराेना संक्रमितलाई स्वास्थ्य परामर्श सेवा दिँदै लमजुङ जिल्ला अस्पताल 

कोराेना संक्रमितलाई स्वास्थ्य परामर्श सेवा दिँदै लमजुङ जिल्ला अस्पताल 

Trulli
ADVERTISEMENT

लमजुङ- जिल्ला अस्पताल लमजुङले स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ । कोरोना महामारीका कारण नागरिकमा हुन सक्ने मानसिक समस्या सामना गर्न परामर्श सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

 

कोरोना संक्रमणका कारण जिल्लामा जारी गरिएको निषेधाज्ञाको समय हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्याविरुद्ध मनोविमर्श सेवा सुरु गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

 

अस्पतालले बिहान १० देखि दिउँसो ३ बजेसम्म टेलिफोन मार्फत स्वास्थ्य परामर्श दिन सुरु गरेको उनले जानकारी दिए । 

 

तीव्र बन्दै गएको कोरोना संक्रमणका कारण मनमा उत्पन्न हुने नकारात्मक कुरालाई हटाएर नागरिकमा सकारात्मक सोचको विकास गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

 

कोरोना संक्रमण पुष्टि भएर अस्पतालको आइसोलेसन कक्षमा रहेका बिरामी र होम आइसोलेसनमा रहेका संक्रमितले यो समय घरपरिवारबाट टाढा भएको, एक्लो भएको महसुस गर्ने हुँदा मनमा पैदा हुने नकारात्मक सोच हटाउन परामर्श सेवा सुरु गरेको श्रेष्ठको भनाइ छ ।

 

कोरोना संक्रमणका कारण तनावमा रहेका जोकोहीले पनि टेलिफोनमार्फत यो सेवा लिन सक्नेछन् । स्वास्थ्य परामर्श सेवाका लागि अस्पतालले मोबाइल नम्बर उपलब्ध गराएको छ ।

 

जिल्ला अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख एवं परामर्शकर्ता शोभा शाही ठकुरीले परामर्श सेवा दिनेछिन् । जुनसुकै व्यक्तिले आफूलगायत परिवारका कुनै पनि सदस्यमा मानसिक एवं मनोवैज्ञानिक असर देखापरे फोन गर्न अस्पतालले आग्रह गरेको छ । 


मानसिक तथा मनोसामाजिक असर परे डर लाग्ने, चिन्ता लाग्ने, आत्तिने, छटपटी हुने, अत्यधिक टाउको दुख्ने, चिडचिडाहट हुने, मुटुको धड्कन बढ्ने, रुन मन लाग्ने, आत्मबलमा कमी आउने, आत्महत्याको सोच आउने, धूमपान तथा मद्यपानको अधिक प्रयोग गर्ने, एकान्त मन पराउनेजस्ता विभिन्न लक्षण देखिने गर्छन् । यी लक्षण २ साता बढी देखिए मनोविमर्श सेवा लिनुपर्ने ठकुरीले सुझाइन् ।