close

बयालपाटा अस्पताललाई व्यवस्थित गर्न अछामका सराेकारवालाकाे माग

अस्पताललाई २१ करोड बजेट व्यवस्थापनको पहल

बयालपाटा अस्पताललाई व्यवस्थित गर्न अछामका सराेकारवालाकाे माग

अस्पताललाई २१ करोड बजेट व्यवस्थापनको पहल

Trulli
ADVERTISEMENT

अछाम- बयालपाटा अस्पतालको दीर्घकालीन आर्थिक व्यवस्थापनका लागि पहल गर्न अछामका सरोकारवाला सहमत भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा बयालपाटा अस्पताललाई बजेट उपलब्ध गराउन स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्ने उनीहरूले प्रतिबद्धता जनाए ।


त्यसका लागि २४ जेठमा जिल्ला समन्वय समिति अछामको पहलमा बयालपाटा अस्पतालको सेवा क्षेत्रभित्रका सबै स्थानीय पालिका, बाजुराका केही स्थानीय पालिका र डोटीको पूर्वीचौकी गाँउपालिकाका प्रमुखसँग बयालपाटा अस्पतालमा बैठक गर्ने निर्णय भएको हो । 


बयालपाटा अस्पतालको सेवा दीर्घकालीन रूपमा सञ्चालन गर्न बजेटको व्यावस्थापन विषयमा शुक्रबार छलफल भएको छ । जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले २४ जेटमा स्थानीय पालिका प्रमुखसँग बैठक गरेर प्रतिबद्धतासहितको निर्णय हुने जानकारी दिए । 

 

सोही बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई अस्पतालका लागि बजेट विनियोजन गर्न सामूहिक निर्णय गरेर पठाइने समन्वय प्रमुख कुवँरले बताए । कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले अस्पतालको दीर्घकालीन सेवा सञ्चालनमा कमी हुन नदिन पहल गर्ने जानकारी दिए । 


उनले भने, ‘स्थानीय पालिकादेखि प्रदेश सरकारसँग बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गर्न आग्रह गर्छु । सरकारी डाक्टरका लागि संघीय सरकारलाई घचघच्याउन सरोकारवालाले पनि पहल गर्नुपर्छ ।’ 

 

कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले नगरले अस्पतालको दीर्घकालीन आर्थिक व्यवस्थापनमा हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र आउने दिनमा बजेटसँगै स्वास्थ्य बिमालाई पनि लागू गरिने धारणा राखे । 


अस्पतालमा दीर्घकालीन आर्थिक व्यवस्थापनका लागि प्रदेश सरकारलाई पटक-पटक अनुरोध गरिरहेको उनले बताए ।  नेपालमै निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको एक मात्र बयालपाटा अस्पतालका लागि संघीय सरकारले पनि बजेट छुट्याउनुपर्नेमा उनले जोड दिए । 


‘बयालपाटा अस्पताल सबै सरकारका लागि गौरवको विषय हो’, नगरप्रमुख कुँवरले भने, ‘सबै प्रकारका सेवा बयालपाटाबाहेक देशमा अन्त कतै छैन । बयालपाटा अस्पताललाई आगामी दिनमा ग्रामीण ट्रमा सेन्टरको रूपमा विकसित गरिनुपर्छ ।’ 

 

स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बयालपाटा अस्पताल ५० बेडको अनुमतिप्राप्त भएकाले यसको आर्थिक व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताए ।

 

अस्पतालले अछामी र छिमेकी जिल्लाका वासिन्दालाई निःशुल्क सेवा दिइरहेकाले यसको दीर्घकालीन सञ्चालनका लागि सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । 


अहिले हरेक पालिकामा स्वास्थ्य चौकी रहेका छन् भने न्याय हेल्थ र सरकारी कार्यक्रम एउटै प्रकारका भएकाले सबैलाई मर्ज गरेर अस्पतालले थप विशेषज्ञससहितको सेवा विस्तार गर्नुपर्ने सुझाव उनले दिए । 

 

अस्पतालको चालू आर्थिक वर्षको खर्च विवरण र आगमी वर्षका लागि आवश्यक बजेट तथा प्रदान गरिरहेका सेवाबारे अस्पतालका मेडिकल तथा शल्य चिकित्सा निर्देशक डा. मन्दीप पाठकले सहभागीलाई जानकारी गराएका थिए । 

 

आगामी आर्थिक वर्षमा अस्पतालको नियमित सेवा, कोरोना रोकथाम र नियन्त्रणमा गरेर २१ करोड रुपैयाँ हाराहारी बजेट आवश्यक रहेको उनले बताए । 


बैठकमा अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, साँफेबगर नगरपालिका वडा नम्बर ६, ७ र ८ का वडाध्यक्ष, स्वास्थ्य शाखाप्रमुख पुष्प बुढालगायत सहभागी थिए ।

 

कोरोना संक्रमण दर कम गर्न साँफेबगरले थाल्यो सचेतना 

साँफेबगर नगरपालिकाले कोरोना सक्रमण दर कम गर्न सचेतना कार्यक्रम चलाएको छ । संक्रमण भएर उपचार गर्नुभन्दा हुनै नदिन नगरपालिकाले नागरिकलाई सचेत बनाउन लागेको हो ।

 

कोरोना परीक्षणका लागि स्बाब दिएका र होम आइसोलेसनमा बसेकाहरू जथाभावी हिँडडुल गर्न थालेपछि नगरपालिकाले सचेतना कार्यक्रम गर्दै आएको हो । समुदाय स्तरमा कोरोना फैलिएपछि नगरपालिकाले प्रत्येक वडामा पुगेर स्वाब संकलन गर्नुका साथै स्थानीयलाई कोरोनाबाट बच्ने उपायबारे जानकारी गराउँदै आएको छ ।


गाउँबस्तीमा कोरोना संक्रमणको अवस्था बुझ्न नगरपालिका प्रमुख कुलबहादुर कुँवरसहित स्वास्थ्य र सुरक्षाकर्मीको टोली अहिले गाउँ-गाउँ पुग्न थालेको छ । 


यतिबेला खेतीपाती लगाउने समय भएकाले पनि गाउँघरमा भीडभाड हुन थालेको छ । नगरप्रमुख कुँवरले नागरिकलाई स्वास्थ्यको विशेष ख्याल राख्न स्थानीयलाई आग्रह गरिरहेका छन् ।