close

कमलबजारमा २५ शय्या अस्पताल निर्माणको मागसहित नगरप्रमुखले बुझाए ज्ञापनपत्र

कमलबजारमा २५ शय्या अस्पताल निर्माणको मागसहित नगरप्रमुखले बुझाए ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

अछाम- अछामको कमलबजार नगरपालिका प्रमखु ओमप्रकाश विष्टले जिल्लाको पूर्वी क्षेत्र स्वास्थ्यका दृष्टिकोणले जहिल्यै पछि परेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई अस्पताल निर्माणका लागि आग्रह गरेका छन् ।


विष्टले पूर्वी क्षेत्रका तुर्माखाँद, ढकारी गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकालाई पायक पर्ने गरी कमलबजारमा २५ शय्याको अस्पताल निर्माण हुनुपर्ने माग गरेका हुन् । 


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री लालबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै २५ शय्याको असपताल बनाउन माग गरेका हुन् । 


नगरप्रमुख विष्टले मुख्यमन्त्री भट्ट र मन्त्री खड्कालाई यथाशक्य छिटो अस्पताल निर्माणका लागि पहल गर्न आग्रह गरे । उक्त अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारबाट हुन सक्ने पहल गर्ने प्रतिबद्धता जनाए ।


सामाजिक विकासमन्त्री खड्काले अस्पतालको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएको नगरप्रमुख विष्टले बताए । सो अवसरमा अछाम क्षेत्र २ बाट प्रतिनिधित्व गर्ने सांसद अक्कलबहादुर रावल र अम्बि थापाको उपस्थित थिए ।


सदरमुकाम मंगलसेन र क्षेत्र १ मा बयालपाटा अस्पताल सञ्चालन भए पनि पूर्वी क्षेत्रका नागरिकलाई सेवा लिन लामो बाटो हिँडेर जिल्ला अस्पताल वा बयालपाटा अस्पताल धाउनुपर्ने बाध्यता रहेकाले कमलबजारमा अस्पताल निर्माणका लागि पहल गरेको जानकारी दिए । 


यसअघि संघीय सरकारले हरेक पालिकामा १० शय्या र नगरपालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गर्दै बजेटसमेत विनियोजित गरेको थियो । कुनै पालिकामा त्यसको काम अघि बढे पनि अधिकांश गाउँ तथा नगरमा काम सुरु हुन सकेको छैन ।