close

गुल्मीकै पहिलो पोषणमैत्री संस्था बन्यो बलिथुम स्वास्थ्य चौकी

पालिकाभित्रका सबै वडालाई पूर्ण पोषणमैत्री घोषणा गर्ने योजना 

गुल्मीकै पहिलो पोषणमैत्री संस्था बन्यो बलिथुम स्वास्थ्य चौकी

पालिकाभित्रका सबै वडालाई पूर्ण पोषणमैत्री घोषणा गर्ने योजना 

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमै पहिलो पटक गुल्मी दरबार गाउँपालिका वडा नम्बर १ को बलिथुम स्वास्थ्य चौकी पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था बनेको छ । बुधबार गाउँपालिका उपप्रमुख मीना भण्डारीले स्वास्थ्य संस्थालाई पूर्ण पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिन् ।
 
स्वास्थ्य चौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्दै उपप्रमुख भण्डारीले गाउँपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर योजना अगाडि बढाएकाले सीमित स्रोत-साधनका बीच पनि स्वास्थ्यकर्मीको मिहिनेतले गुल्मी दरबार स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै दाबी गरिन् ।


अरू वडाका स्वास्थ्य चौकीले पनि पूर्ण पोषणको काम गरिरहेकाले आगामी दिनमा गाउँपालिकालाई नै पूर्ण पोषणमैत्री पालिका घोषणा गरिने भण्डारीको भनाइ छ ।


पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न १६ सूचक पूरा गर्नुपर्छ । पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थाको घोषणाका लागि पोषण कर्नर, पोषणका सन्देशमूलक पोस्टर, एकीकृत बालरोग व्यवस्थापन सेवा लिन आउने बालबालिकाको पोषणसम्बन्धी सूचना, पोषण रजिस्ट्ररमा गरिएको अभिलेखको विश्लेषण गरेर अंक प्रदान गरिने गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए । 


त्यस्तै, पोषणसँगसम्बन्धी औषधी र सामग्री, बालबालिकाको नियमित तौल अनुगमन, बालबालिकाको पूर्ण स्तनपानको अवस्था, कुपोषण अवस्था, पोषण परामर्श, भिटामिन ए र जुकाको औषधी खाने बालबालिका, पोषण अभिलेख र प्रतिवेदन पनि पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थाका आधार भएको अर्यालले बताए ।

 

गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु, नवशिशु, पोषण, सरसफाइ, परिवार योजनासहित गर्भवती महिलाको स्वास्थ्यलाई ख्याल राख्दै ‘कस्तो छ आमा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम अहिले प्रभावकारी बनिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।


त्यस्तै, गाउँपालिकाले महिला बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार तथा औषधी वितरण, बर्थिङ सेन्टर सञ्चालन, अपांग परिचयपत्र वितरण र विद्यार्थी केन्द्रित साथी शिक्षा कार्यक्रम गाउँ-गाउँमा सञ्चालन गरिरहेको पाण्डेयले बताए । 

 

बलिथुम स्वास्थ्य चौकी उत्कृष्ट

गुल्मी दरबार गाउँपालिकाका ७ स्वास्थ्य चौकीमध्ये वडा नम्बर १ को बलिथुम स्वास्थ्य चौकी पहिलो भएको छ । गाउँपालिकाले मासिका प्रगति मूल्यांकन, भौतिक व्यवस्थापन, सरसफाइ, सामाजिक परीक्षण र नवीनतम कार्य तथा वडा स्तरीय योजनाको बजेटका आधारमा स्वास्थ्य चौकीलाई पुरस्कृत गरिएको पालिका स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए । 


गाउँपालिकाको मूल्यांकनमा जुभुङ स्वास्थ्य चौकी दोस्रो, दरबार देविस्थान स्वास्थ्य चौकी तेस्रो र वीरबास स्वास्थ्य चौकीले सान्त्वना स्थान प्राप्त गरेको अर्यालले बताए । 


त्यस्तै, प्रत्येक स्वास्थ्य चौकीमा राम्रो काम गर्ने इन्चार्जसहित ३, कोभिड रोकथाम तथा नियन्त्रणमा उल्लेख्य काम गर्ने ३, कोभिड-१९ अस्पताल व्यवस्थापनमा काम गर्ने १ जना र अनुशासित तथा लगनशिल स्वास्थ्यकर्मी १ जना र सरसफाईमा उत्कृष्ट काम गर्ने कार्यालय सहयोगी १ जनालाई सम्मान गरिएको छ । 

 

घोषणाको दिगोपनामा जोड

बलिथुम स्वास्थ्य चौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रममा बोल्ने अधिकांश वक्ताले घोषणाको दिगोपनालाई जोड दिए ।


पोषण क्षेत्रमा काम गरिरहेको सुआहारा गुल्मीका पोषणविज्ञ लिलबहादुर नेपालीले घोषणा आफैंमा सुखद विषय भए पनि निरन्तर सक्रियता नभए अभियान र कार्यक्रम घोषणामा मात्रै सीमित हुने भएकाले थप गम्भीर बन्नुपर्ने बताए ।


उनले घोषणा भएको दिनलाई दिवस वा उत्सवको रूपमा सम्झेर प्रत्येक वर्ष पोषणको अवस्था मूल्यांकन र सुधार गर्न सके घोषणाको प्रभावकारिता हुने धारणा राखे ।


त्यस्तै, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले आयआर्जन र शिक्षासँगै पोषणलाई प्राथमिकता दिनुपर्ने बताए । जिल्लामै पहिलो पोषणमैत्री तथा गुल्मी दरबारको उत्कृष्ट स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर थापाले जनप्रतिनिधि, समुदाय र स्वास्थ्य चौकीका सम्पूर्ण स्टाफको सक्रियाताले नै सफलता दिलाएको जानकारी दिए ।


जिल्लामा एकीकृत ग्रामीण विकास समाज गुल्मीले सुआहारामार्फत जनशक्ति, सीप विकास र सामग्री सहयोगको काम गरिरहेको छ ।