close

खोप केन्द्रमा थामिनसक्नुको भीड स्वास्थ्यकर्मीलाई सम्हाल्नै हम्मे–हम्मे

खोप केन्द्रमा थामिनसक्नुको भीड स्वास्थ्यकर्मीलाई सम्हाल्नै हम्मे–हम्मे

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीमा विहीबारदेखि कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको छ । १९ हजार ५ सय जनालाई लगाउन लागिएको खोप बिहीबार गैडाकोटबाट सुरु गरिएको थियो भने शुक्रबार नवलपुरका अधिकांश पालिकामा लगाइँदै छ ।


५५ वर्ष उमेर समूहमाथि, शिक्षक, चालक, सह-चालकलगायतलाई यस पटक नवलपुरमा खोप लगाइनेछ । तर, खोप केन्द्रमा भीड थामिनसक्नु छ । खोप केन्द्रमा बिहान १० बजेदेखि खोप लगाइने भनिए पनि बिहानै ८ बजेदेखि नै खोप लगाउनेको लाइन लाग्ने गरेको छ । 


एकातिर खोप लगाउन आउनेको संख्या अत्यधिक भएको छ भने अर्कोतर्फ सामाजिक दूरी कायम नगर्दा कोरोना संक्रमण फैलने जोखिम बढेको छ । बिहीबार गैडाकोटमा अत्यधिक भीड बढेपछि शुक्रबारको खोप रोकिएको छ । गैडाकोट नगरपालिकालाई उपलब्ध ३ हजार ६ सय २० डोज भेरोसेल खोप पहिलो दिन अर्थात् बिहीबार नै सकिएको जानकारी सामाजिक सञ्जालमार्फत गराएर शुक्रबार खोप लगाइने कार्यक्रम बन्द गरिएको जनाइएको थियो ।

 

प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले नगरपालिकालाई प्राप्त खोप एकै दिन सकिएको बताए । शुक्रबार नवलपुरका देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका, कावासोती नगरपालिकालगायत खोप केन्द्रमा खोप लगाइएको छ । देवचुली वडा नम्बर ११ का स्थानीय पदमराज भट्टराईले खोप केन्द्रमा अत्यधिक भीड भएको र लाइनमा बस्नेभन्दा नाम टिपाएर आउनेले प्राथमिकताका आधारमा खोप लगाइरहेको पाइएको बताए ।


स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागार्इंले सुरु-सुरुमा खोप लगाउन अनिच्छा देखाएका र डराएकाले पनि यस पटक खोप लगाउन थालेका कारण चाप बढेको स्वीकारे । उनले भने, ‘खोप लगाउने ठाउँमा सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न भनिए पििन पालना नगरेको गुनासो आएको छ ।’