close

महाराजगञ्ज स्वास्थ्य केन्द्रको कन्तबिजोक (भिडियो खबर)

महाराजगञ्ज स्वास्थ्य केन्द्रको कन्तबिजोक (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- स्वास्थ्य मानव जीवनको लागि एक महत्वपूर्ण पक्ष हो । नेपालको संविधान भाग ३ धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगर्ने उल्लेख गरिएको छ ।

 

सरकारले नागरिकको स्वास्थ्य पहुँच बढाउनको लागि प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, गाउँ तथा शहरी स्वास्थ्य क्लिनिक र अस्पतालको व्यवस्था गरेको छ । तर, सेवा प्रदायक निकायको अवस्था भने विजोग  छ । यसको उदाहरण बनेको छ, कपिलवस्तुको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र । 


कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित महाराजगञ्ज स्वास्थ्य केन्द्रको कुनै साइन बोर्ड पनि छैन । शौचालय जानु भयो भने न छिर्न सक्ने अवस्था छ न त शौचालयमा पानीको व्यवस्था नै छ । स्वास्थ्य संस्थामा एक्स रे गर्ने मेसिन छ । तर, चल्न नसकेर कोठामा ताला लगाएर राखिएको छ । जनताको उपाचार गर्न स्थापना गरिएको स्वास्थ्य संस्था कै उपचार गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ । 


कार्यालयका अनुसार विद्युतको समस्याका कारणले विगत २ महिना देखि एक्स रे मेसिन सञ्चालन गर्न सकिएको छैन । मिसिन सञ्चालन गर्न थ्रि फेज लाइन चाहिने भएपनि अस्पतालमा सिङ्गल फेज मात्र छ । यता केन्द्रमा शौचालयको काम गर्दा पाइप लाइन टुटेपछि पानी आउन छाडेको छ । बर्थिङ सेन्टर बाहेक अन्य ठाउँमा पानी नै छैन । शौचालय छिर्न समेत मुस्किल छ ।

 

अस्पतालमा पानी चुहिने समस्या पनि उस्तै छ भने प्रयोगशालाको एनलाइजर, इसिजी मेसिन समेत बिग्रिएको छ । स्वास्थ्य केन्द्र पालिकाको भरमा मात्र चलेको र प्रदेश तथा संघीय सरकारले कुनै सहयोग नभएको कारणले सोचे जस्तो सुविधा दिन नसकेको गुनासो नगरप्रमुखको छ । 


महिनौ देखि सेवा सञ्चालन नहुँदा उपचार सेवा लिन आउने सेवाग्राही समस्यामा पर्दै आएका छन् । तर, सेवा सञ्चालनतर्फ सरोकारवालाको ध्यान भने पुगेको पाइँदैन । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वडा नं. १ का अध्यक्ष शिव प्रसाद बानियाँ हुन् । तर, बानियाँ अहिलेसम्म अस्पतालको अवस्था हेर्न आएका छैनन् ।

 

नगरप्रमुखले समेत वडाध्यक्षलाई लगाम लगाएर, संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको पाइँदैन । स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकारले पनि लाचारीपन देखाउनु अशोभनीय हो । तत्काल स्वास्थ्य केन्द्रको स्तरोन्नतीमा ध्यान दिन आवश्यक छ ।