close

अगाडि बढ्यो बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण

अगाडि बढ्यो बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण

Trulli
ADVERTISEMENT

महोत्तरी– वातावरणीय प्रभाव मूल्यांकनलाई कारण देखाउँदै लामो समयदेखि प्रदेशमा रोकिएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाको फाइल प्रदेशबाट स्वीकृत भएको छ ।


प्रदेशको वन तथा भू–संरक्षण कार्यालय र वन डिभिजन कार्यालयबाट स्वीकृत भएको उक्त फाइल केन्द्र पठाइसकिएको र छिट्टै पूर्वाधार निर्माण अगाडि बढ्ने आयोजना प्रमुख देवीप्रसाद सुवेदीले बताए ।


पूर्वाधार निर्माणका लागि महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ४ स्थित माईस्थानमा जग्गा पहिचान भएसँगै सम्पूर्ण प्रक्रिया सकेर करिब १ वर्षअघि स्वीकृतिका लागि वन डिभिजन कार्यालयमा फाइल पठाइएको थियो ।

 

प्रदेशकै गौरवको आयोजना बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजनामा प्रदेश सरकार नै उदासीन रहेको आरोप लागिरहेका बेला फाइल सदर गर्दै संघीय सरकारको सम्बन्धित कार्यालयमा पठाइएपछि स्थानीय खुसी छन् ।


संघीय सरकारको एक प्रदेश एक मेडिकल कलेज निर्माणको अवधारणाअनुसार आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा प्रदेश २ महोत्तरीको बर्दिबासमा, प्रदेश ५ को रूपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ ।


अहिले वातावरणविद्सँगको निरन्तर छलफलपछि बर्दिबास नगरपालिका वडा नम्बर ४ स्थित माईस्थान सामुदायिक वनभित्र करिब ४९ हेक्टर क्षेत्रफलमा मेडिकल कलेजको संरचना निर्माणका लागि डिपिआर तयार भइसकेको छ ।  उक्त डिपिआरको ढाँचासमेत मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए ।

 

संघीय सरकारले प्रदेश २ का ८ वटै जिल्लाको केन्द्र र अन्य जिल्लालाई समेत सहज हुने अध्ययन, अनुसन्धानले निष्कर्ष निकालेपछि बर्दिवास नगरपालिका छनोट गरिएको हो ।


वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनअनुसार ४९ हेक्टर क्षेत्रफलमा संरचना निर्माण गर्दा १९ सय ६७ रुख काटनुपर्ने उल्लेख छ । तर, डिपिआर निर्माणका लागि परामर्श सेवाप्रदायक संस्था जेभीले भने संरचना निर्माण स्थलमा ४ देखि ५ सयसम्म रुख काट्नुपर्ने बताएको छ ।


मन्त्रालय र विज्ञको सुझावअनुसार नै माईस्थान सामुदयिक वनको ५४.५८४ हेक्टरमध्ये ४९ हेक्टर क्षेत्र पश्चिमपट्टि अटावे खोला नजिक बाक्लो जंगल नभएको ठाउँमा संरचना निर्माण हुने बताइएको थियो । ‘विविध कारणले फाइल प्रदेशमै रोकिएकामा अब भने काम तुरुन्त अगाडि बढ्नेछ’, आयोजना प्रमुख देवीप्रसाद सुवेदीले भने ।

 

मेडिकल कलेज स्थापनाको पूर्वतयारीका लागि मात्रै संघीय सरकारले करिब ६ करोड रुपैयाँ खर्च गरिसकेको छ भने डिपिआरको हालसम्मको रिपोर्टअनुसार संरचना निर्माण सम्पन्न गर्न अनुमानित ३० अर्ब रुपैयाँ लाग्ने बताइएको छ । आयोजना बिनाअवरोध सम्पन्न भए १ हजार बेडको अस्पताल निर्माण हुनेछ । सुरुका ५ वर्षसम्म १०० चिकित्सक तथा १६० जना नर्सिङ जनशक्ति उत्पादन हुनेछन् । राज्यमा रोजगारी अवसर सिर्जना हुनुका साथै नागरिकले सहज स्वास्थ्य सेवा लिन सक्नेछन् ।

 

बर्दिबास मेडिकल कलेजसँगै प्रक्रिया अगाडि बढेको बुटवल मेडिकल कलेजको लागि त्यहाँको डिभिजन वन कार्यालयले तत्काल काम सम्पन्न गरेर मन्त्रालयमा फाइल पठाइसकेको छ ।  वन तथा वातावरण मन्त्रालयले जग्गा प्राप्तिको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएकाम स्वीकृत भइसकेको छ ।