close

महोत्तरीमा कोरोना खोप : धान भित्र्याउने चटारोले खोप केन्द्र पुग्नै छाडे सर्वसाधारण

महोत्तरीमा कोरोना खोप : धान भित्र्याउने चटारोले खोप केन्द्र पुग्नै छाडे सर्वसाधारण

Trulli
ADVERTISEMENT

महोत्तरी– धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिडविरुद्धको खोप अभियानमा खोप केन्द्रसम्म यसपालि पनि पुगेनन् ।
कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतना अभावले पुग्न सकेनन् ।

 

किसाननगरका ७५ वर्षीय टेकबहादुर मगर छोराछोरीले कर गरेर मात्र खोप लगाउन आएको बताउँछन् । दुवै डोज खोप लगाए पनि यसले मान्छेलाई बचाउँछ भन्नेमा कम विश्वास लागेको उनी बताउँछन् । १ देखि ४ मंसिरसम्म महोत्तरीका ७ वटा पालिकाका टोल–टोलमा खोप अभियान चलाइएको थियो । तर, महोत्तरीको उत्तरी क्षेत्रका ७ वटा पालिकामा चलाइएको खोप अभियानमा सर्वसाधारणको न्यून उपस्थिति रह्यो । भेरोसेल दोस्रो डोज खोप अभियानका क्रममा ३० हजार खोप महोत्तरी आइपुगेको थियो ।


महोत्तरीमा अहिलेसम्म चलाइएका खोप अभियानमा ५६ हजार ६ सय ५८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् । दोस्रो डोजका लागि आह्वान गरिएको भेरोसेल खोप लगाउन १५ प्रतिशत सर्वसाधारण पनि उपस्थित नभएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

 

मंगलबारबाटै बाँकी ८ वटा पालिकामा ३ दिनका लागि खोप अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले बताए । ‘खोप अभियानलाई प्रभावकारी बनाउन १० मंसिरबाट नया ढंगले अगाडि बढ्छौँ । यसका लागी प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ’, उनले भने ।


जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लगाएका छन्, जुन कुल जनसंख्याको झन्डै ५२ प्रतिशत हो । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट वञ्चित छन् ।