close

घरमै आएर कोरोनाविरुद्धको खोप लगाइदिन महोत्तरीका ज्येष्ठ नागरिकको याचना

घरमै आएर कोरोनाविरुद्धको खोप लगाइदिन महोत्तरीका ज्येष्ठ नागरिकको याचना

Trulli
ADVERTISEMENT

महोत्तरी–महोत्तरीको बर्दिबास नगरका गोविन्द श्रेष्ठ शारीरिक रूपमा अशक्त छन् । हिँडडुल गर्न पनि उनलाई समस्या छ । कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदा उनकी भाउजुले उनलाई खोप केन्द्रसम्म पुर्‍याइन् । तर, त्यहाँ पुग्दासम्म कोरोनाविरुद्धको खोप सकिइसकेको भन्दै स्वास्थ्यकर्मीले फर्काइदिए ।

 

गोविन्द मात्र होइन, उनका भाइ पनि शारीरिक रूपमा अशक्त छन् । दुवै दाजुभाइ न बोल्न सक्छन्, न त खोप केन्द्रसम्म खोप लगाउन जाने अवस्था छ । सोही कारण उनीहरूले अहिलेसम्म कुनै पनि खोप लिन सकिरहेका छैनन् ।

 

गोविन्द दाजुभाइजस्तै ५५ वर्षीय लालबहादुर विकलाई दायाँ खुट्टा चल्न नसक्दा बैसाखीको सहारा लिनुपर्छ । बैसाखीको भरमा खोप केन्द्रसम्म पुग्न विकलाई धेरै समय लाग्ने भएका कारण कोरोना खोप लिने चाहना भए पनि लगाउन पाएका छैनन् ।


‘हामीजस्ताका लागि सरकारले सोच्नुपर्ने हो तर त्यसमा ध्यान दिइएको छैन । स्थानीय सरकारले अशक्तहरूका लागि घरदैलो अभियान चलाए मात्रै खोप लगाउन पाउँथ्यौँ’, विकले भने ।

 

श्रेष्ठकी भाउजुको पनि स्थानीय सरकारलाई विकको जस्तै अनुरोध छ । पटक–पटक लिएर जान नसकिने हुँदा वडाले अशक्तहरूका लागि घर–घरमै आएर खोप व्यवस्था गरिदिए राम्रो हुने उनको बुझाइ छ ।


वृद्ध, अशक्तहरूका लागि खोप केन्द्रसम्म पुग्नैपर्ने बाध्यताले अहिले महोत्तरीमा ठूलो संख्या खोप लिनबाट वञ्चित भइरहेको स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरका अनुसार झन्डै ५१ प्रतिशत बढी कोरोना खोप लिनवाट वञ्चित छन् । 


यसमध्ये पनि ३० प्रतिशतले मात्र दोस्रो डोज पाएको र २२ प्रतिशत दोस्रो डोजको पर्खाइमा रहेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्यांकमा उल्लेख छ । बाँकी ७० प्रतिशत जनसंख्या पूर्ण खोपको पर्खाइमा छ ।

 

पूर्ण खोप लिएको तथ्यांकलाई आधार मान्ने हो भने महोत्तरीमा कम संख्याले खोप लगाएका छन । ७० प्रतिशत पूर्ण खोपबाट वञ्चित छन् । वडा र नगरमा राखिएका खोप केन्द्रहमा वृद्ध र अपांगताको सहभागिता अत्यन्त न्यून रहेको तथ्यांकले पुष्टि गरिरहेका बेला कोरोना खोप अभियान घर–घरमा सञ्चालन गर्नुपर्ने देखिएको विज्ञहरूको सुझाव छ ।

 

‘पहिला कोरोना खोप र यसको प्रभावकारिताका विषयमा जनचेतनाको कमी छ । यसलाई जनस्तरसम्म प्रवाह गर्नुपर्छ’, डिएनबी क्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रविन मिश्रको सुझाव छ ।

 

महोत्तरीमा कोरोना खोप अभियान प्रभावकारी बन्न नसक्दा सरकारले निर्धारण गरेको लक्षित उमेर समूहले नै खोप लगाउन पाएका छैनन् । शारीरिक रूपमा अशक्त, वृद्धवृद्धाका लागि स्थानीय सरकारको कुनै योजना बन्न नसक्दा महोत्तरीका १५ वटै स्थानीय तहमा कोरोना खोप अभियान प्रभावकारी हुन सकेको छैन ।
हाल सञ्चालन भइरहेका खोप केन्द्रमा लक्षित उमेर समूहको समेत न्यून उपस्थिति हुनुले घरदैलो अभियान सञ्चालन गरेर खोप लगाउन प्रोत्साहन गर्नुपर्ने र अशक्त एवं वृद्धहरूका लागि घर–घरमै पुग्नुपर्ने देखिएको शिक्षक भाष्कर दाहालले बताए ।


महोत्तरीको कुल जनसंख्याको झन्डै १० हजार बढी जन्मजात अपांगता र करिब ११ हजार दुर्घटना तथा भवितव्यबाट अंगभंग भएकाहरू रहेको तथ्यांकले देखाएको छ ।