close

ओमिक्रोन त्रासले महोत्तरीका सर्वसाधारणमा कोरोना खोपप्रति चासो

ओमिक्रोन त्रासले महोत्तरीका सर्वसाधारणमा कोरोना खोपप्रति चासो

Trulli
ADVERTISEMENT

महोत्तरी– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् । अभियान सुरु हुँदासमेत कोरोनाविरुद्धको खोप लगाउन उपस्थितै नहुने सर्वसाधारणले नयाँ भेरियन्ट देखिएपछि बल्ल खोपप्रति चासो दिन थालेका हुन् ।

 

खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएका विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको छैन । कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएको छैटाँै खोप अभियानअन्तर्गत हासम्म ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।


‘खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जानै पाइएन । अहिले फेरि यही कोरोनाको नया भेरियन्ट आएको खबर पायौँ । अबचाहिँ जसरी पनि खोप लगाउँछु,’ महोत्तरी जलेश्वरका राम नरेश भन्छन् ।

 

राम नरेशजस्तै यसपल्ट खोप अभियानमा जसरी पनि सहभागी हुने बर्दिबास वडा नम्बर ३ का कृष्ण खत्री बताउँछन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको चर्चा र केही देशहरूले लकडाउनै गरेपछि अहिले डर लाग्न थालेको उनी सुनाउँछन् । कोरोना महामारी नियन्त्रण र यसबाट बच्न खोप लगाउनुपर्ने एक मात्र विकल्प हुँदाहुँदै जनचेतना अभावले अझै महोत्तरीका मुसहर, डुम तथा मुस्लिम समुदायले खोपलाई सहर्ष स्वीकार्न सकेका छैनन् ।

 

खोप लगाइसकेपछि ज्वरो आउने, दीर्घरोग भए त्यसलाइ टेवा पुग्ने र मृत्युसम्म हुने गलत अफवाहले सबै उमेर समूहका सर्वसाधारण अझै द्विविधामा छन् । महोत्तरीमा चलाइएका सबै खोप केन्द्रमा सर्वसाधारणहरूको चासो र सहभागिता न्यून देखिए पनि ओमिक्रोनको चर्चा हुन थालेपछि खोपको विषयमा आफैं सोधीखोजी गर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले बताएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लगाएका छन् । यो संख्या कुल जनसंख्याको झन्डै ५२ प्रतिशत हो । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट विमुख छ ।