close

बूढीनन्दामा स्वास्थ्य स्वयंसेविका छनोटमा अनियमितता

स्थानीय महिलाले लगाए वडा कार्यालयमा ताला

बूढीनन्दामा स्वास्थ्य स्वयंसेविका छनोटमा अनियमितता

स्थानीय महिलाले लगाए वडा कार्यालयमा ताला

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा नम्बर ५ को आमा समूहमा आबद्ध ११ स्थानीय महिलाले वडा कार्यालयमा ताला लगाइदिएका हुन् । वडाले स्वयंसेविका छनोट प्रक्रियामा भेदभाव गरेको विषयलाई लिएर वडा कार्यालयमा तालाबन्दी गरेको आमा समूहका अध्यक्ष खिमा चदाराले जानकारी दिइन् ।

 


काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई हटाएर अर्काेलाई नियुक्ति दिएकामा असन्तुष्टि जनाउँदै आएका महिलाले वडा कार्यालय तालाबन्दी गरेको उनले बताइन ।

 


स्थानीय प्रतिमा पाध्यायले चार महिनासम्म स्वास्थ्य स्वयंसेविका पदमा रहेर काम गरे पनि नियुक्ति नपाएको र राजनीतिक पहुँचका आधारमा अर्काेलाई छनोट गरी नियुक्ति दिएको बताइन् । स्वास्थ्य स्वयंसेविका छनोटका लागि आमा समूहलाई जानकारी दिइने भनिए पनि अहिलेसम्म कुनै जानकारी नभएको आमा समूहका अध्यक्ष चदाराले गुनासो छ ।

 


चार महिनासम्म काम गरे पनि नियुक्ति पाउन नसकेको र पविता पाध्यायलाई नियुक्ति दिइएको स्थानीय प्रतिमा पाध्ययायले दाबी गरिन् । स्वास्थ्य स्वयंसेविका छनोट गर्दा चिट्ठामा परेर चार महिनासम्म काम गरे पनि नियुक्ति दिन आलटाल गरिएको र काम गर्दागर्दै पनि अर्काेलाई नियुक्ति दिइएको उनको गुनासो छ । 

 


नियुक्तिका लागि तीन दिनसम्म वडा कार्यालय धाए पनि कर्मचारीले आलटाल गरेका र अन्तिममा वडाध्यक्षले नदिनू भन्ने जवाफ पाएको पाध्यायको भनाइ छ । गत साउनदेखि कात्तिकसम्म स्वयंसेविका पदमा रहेर काम गरे पनि कुनै सेवा सुविधा नपाएको र कात्तिकदेखि काम गर्न पविताले काम गर्दै आएको उनले बताइन् । कात्तिकको रिपोर्टसमेत काल्सिल स्वास्थ्य चौकीलाई बुझाएको पीडित पाध्यायले सुनाइन् । 


नगरपालिका स्वास्थ्य संयोजक जशी विकले स्वास्थ्य स्वयंसेविकामा छनोट गर्ने अधिकार आफूलाई नभएको र वडा कार्यालयबाट सिफारिस गरी पठाएकालाई छनोट गरिएको बताए । अहिले सबै अधिकार वडा कार्यालयको भएकाले वडाबाटै अर्कोलाई नियुक्ति दिइएको उनको दाबी छ । वडा कार्यालयले जुन व्यक्तिलाई सिफारीस गरेर पठायो, उनैलाई छनोट गरिएको स्वास्थ्य संयोजक विकले बताए । स्वास्थ्य स्वयंसेविका छनोट प्रक्रियामा छानबिन नहुँदासम्म वडा कार्यालयमा तालाबन्दी जारी रहने स्थानीय महिलाले चेतावनी दिएका छन् ।


नयाँ नियुक्त भएका स्वास्थ्य स्वयंसेविकालाई आमा समूहले स्वीकार नगर्ने भएकाले यसको तत्काल छानबिन हुनुपर्ने उनीहरूको माग छ । यसबारे वडाध्यक्ष कृष्णराज पाध्यायसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।