close

पाठेघर खस्ने समस्याले पिरोलिँदै बाजुरेली महिला

पाठेघर खस्ने समस्याले पिरोलिँदै बाजुरेली महिला

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको दुर्गम क्षेत्रका महिला पाठेघर खस्ने समस्याले वर्षौंदेखि आक्रान्त हुँदै आएका छन् । आर्थिक समस्याका कारण समयमा उपचार गर्न नसक्दा उनीहरू रोग लुकाउनुपर्ने बाध्यतामा छन् ।

 

भनेका बेला उपचार नपाइने समस्या एकातिर र अर्कातिर सुविधासम्पन्न ठाउँमा जान आर्थिक अभावका कारण समयमा उपचार नपाउँदा दुर्गमका महिलाको अकालमा ज्यान जाने गरेको छ । बडीमालिका नगरपालिका वडा नम्बर ८ की ४५ वर्षीय बेलु ऐडीको तल्लो पेट दुख्ने समस्या भएको तीन वर्ष पुग्यो । दुई वर्षसम्म उनले कसैलाई भनिन्, रोग लुकाउँदै बसिन् । जब उनलाई अप्ठेरो भयो, तब मात्र घरपरिवारलाई भनिन् ।

 

घरपरिवारले उनलाई जिल्ला अस्पताल बाजुरा पु-याए । त्यहाँ उपचार सम्भव नभएपछि अछामको बयलगडा अस्पताल लगे । ऐडीलाई बयलपाटामा पनि सञ्चो नभएपछि उपचारका लागि काठमाडौ पु-याइयो । आर्थिक अवस्था कमजोर भएकी ऐडीलाई मेडिकल रिहेबिटेसन अर्गनाइजेसनले उपचारमा सहयोग गरिरहेको छ ।

 

दुई वर्ष रोग लुकाएर बसेपछि ऐडीको पाठेघरै निकालेर फाल्नुपर्ने र दुई वटा अप्रेसन गर्नुपर्ने देखिएको अस्पतालले बताएको छ । चिकित्सका अनुसार लामो समयदेखि रोग लुकाएका कारण उनको पाठेघर खस्ने समस्या अन्तिम चरणमा पुगेको छ ।

 

ऐडीले एकातिर लाज मानेर रोग लुकाइरहिन् भने अर्कोतिर आर्थिक अवस्था कमजोर भएर रोग पालिरहेकी थिइन् । अस्पतालले रिफर गरेको ६ महिनापछि मात्र संस्थाले सहयोग गर्ने भएपछि उनी उपचारका लागि काठमाडौं पुगेकी हुन् ।

 

हिमाली गाउँपालिका वडा नम्बर ३ की ५८ वर्षीय सुन्तला रोकायाको पाठेघर खस्ने समस्या भएको ३ वर्ष पुग्यो । सुरु–सुरुमा लाज मान्ने भएका कारण उनले यो समस्या लुकाउँदै आइन् । अप्ठेरो समय आएपछि मात्र उनले उपचार गरिन् । ‘लाज मान्ने भएका कारण रोग लुकाउँदै गएँ । कसैलाई पनि भनिनँ । अहिले साह्रै ग्राहो भएपछि मात्र छोरालाई भनेर उपचार गराउँदै छु’, उनले भनिन् ।

 

बडीमालिका वडा नम्बर ८ की ३५ वर्षीया जलु साउदको पाठेघरमा समस्या आएको २१ वर्ष भयो । १४ वर्षको उमेरमै पहिलो बच्चा जन्माएका बेला उनमा यो समस्या देखिएको थियो । त्यसपछि पनि उनले ३ वटा बच्चा जन्माइन् तर आफ्नो समस्या कसैलाई भनिन् ।  साह्रै समस्या भएको भनेपछि उनले २१ वर्षपछि उपचार गराएको श्रीमान् जय साउदले बताए ।

 

यी केही उदाहरण मात्र हुन् । साउदजस्तै दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त बनेका छन् । जिल्लाका ग्रामीण समुदायमा बस्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । धेरै महिलाले यौन रोग लुकाएर बसिरहेका छन् । अप्ठेरो अवस्थामा पुगेपछि मात्र स्वास्थ्य संस्था जाने गर्छन् । 

 

बाजुराका दुर्गम गाउँमा पाठेघर खस्ने समस्या विकराल बन्दै गएको छ । यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समय उकाली–ओराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने, अशिक्षा, लाज मान्ने प्रवृत्तिलगायत कारणले पनि ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने बडीमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्का बताउँछन् । दुर्गमका महिलाले अझै पनि यौन रोग लुकाउने गर्दा कतिपय आमा अकाल मृत्युको सिकार हुन बाध्य छन् ।