close

स्वास्थ्य बीमा गरेकी मेनका शाही अलपत्र

स्वास्थ्य बीमा गरेकी मेनका शाही अलपत्र

Trulli
ADVERTISEMENT

जुम्ला । नेपालको स्वास्थ्य सेवा महँगो र खर्चिलो भएका कारण धेरैजसो नागरिक स्वास्थ्य बीमा गरेका छन् ।

नेपाल सरकारले पनि विपन्न र गरिबीका रेखा मुनि रहेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

तर, स्वास्थ्य बीमा बोर्डमा काम गर्ने कर्मचारीले स्वास्थ्य बीमाको फाइल समयमा इन्ट्री नहुँदा सेवाग्राही मर्कामा परेका छन् । 

हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि ३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आइन् । 

तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका लागि आफू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आएकी बताइन् । 

‘स्वास्थ्य बिमा गरेकाले घरबाट पैसा पनि नआएको, तर अस्पतालले स्वास्थ्य बीमाको कार्ड देखाउँदा इन्ट्री नभएर कार्यान्वयनमा आएको छैन भन्ने जानकारी प्राप्त भयो,’ उनले भनिन् । 

बिरामी परेको बेला स्वास्थ्य सेवा लिन सहज होला भनेर ०७८ फागुन महिनामा स्वास्थ्य बीमा गरिएको उनले बताइन् । 

उनले भनिन्, ‘स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारीले ०७९ जेठ महिनादेखि कार्यान्वयनमा आउँछ भनेका थिए । तर, साउन महिनाको पहिलो सातासम्म पनि स्वास्थ्य बीमाको फाइल इन्ट्री नै नभएर कार्यान्वयनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारीले स्वास्थ्य बीमा समयमा इन्ट्री नगरी कार्यान्वयनमा नल्याएकाले समस्या भएको छ । घरमा पैसा पनि छैन । अस्पतालमा पटक–पटक बिल काट्नुपरेको छ । 

स्वास्थ्य बीमाका यस्ता समस्या पटक–पटक आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । स्वास्थ्य बीमा दर्ता सहयोगी कर्मचारीले फिल्डबाट समयमा बीमा फाइल ल्याएर इन्ट्री नगर्दा समस्या भएको हो । 

यसले गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ । बीमा दर्ता सहयोग कर्मचारी र स्वास्थ्य बीमा कार्यालय सचेत हुनु पर्ने देखिएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक कमल रावतका अनुसार त्यो क्षेत्रमा काम गर्ने बीमा दर्ता सहयोगी कर्मचारी शेरबहादुर शाहीले स्वास्थ्य बीमा फाइल समयमा नल्याएर समस्या भएको हो । भिल्डमा भएकाले सम्पर्क हुन सकेको छैन । यसको समस्या समाधान समयमै गर्नेछौँ । 

एकले अर्काको कार्ड प्रयोग

अस्पतालमा उपचारको क्रममा स्वास्थ्य बीमा कार्ड एकले अर्काको कार्ड प्रयोग गर्नेको संख्या बढेको जनगुनासो आउने गरेको छ ।

यस्तो जनगुनासो आएपछि स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको गएको असार मसान्तमा संयुक्त रूपमा अनुगमन गरेको थियो ।

उनले भने, ‘प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बिमा कार्ड अनाधिकृत रूपमा प्रयोग गरेको पाइएको थियो । अर्कोको नाममा प्रयोग गर्ने व्यक्तिलाई कानुनी कारबाहीदेखि उपचारमा लागेको खर्चको सबै बिल आफैँ भुक्तानी गर्ने लगाएको छ ।’ 

पहिलोपटक अनुगमन भएकाले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जनस्वास्थ्य निरीक्षक रावतले जानकारी दिए ।

अर्कोको नाममा प्रयोग भएका बिमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रम देशकै नमुना कार्यक्रम भएता पनि बीमा गरेको व्यक्तिले पाउने सेवा अर्कोले पाउँदा बीमा कार्यक्रम माथि प्रश्न उठ्ने गरेको यहाँका सरोकारवाला बताउँछन् ।

६० हजार बढीको स्वास्थ्य बीमा 

जुम्लामा ६० हजार १५६ जनाले स्वास्थ्य बीमा गरेको जिल्ला संयोजक रावतले बताए ।

उनले भने, ‘नर्मल आफैँले बीमाको पैसा तिरेर ३१ हजार ३५४ जनाले बीमा गरेका छन् भने बीमा रकमको ५० प्रतिशत रकम तिरेर ८०९ जना महिला स्वयम् सेविका स्वास्थ्य बीमा भएको छ । 

अतिविपन्न २५ हजार ३३२ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ । 

यस्तै ७० वर्ष माथिका २ हजार ३५७ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा भएको छ । 

एचआइभी एड्स रोगी ३ जना, टिभी रोगी ९ जना र ‘क’ वर्गका पूर्ण असक्त अपांगता भएका २५४ जना व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा भएको जनाएको छ । 

यस्तै, यहाँको स्थानीय तह मध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा बसोबास गर्ने नागरिकले स्वास्थ्य बीमा गरेका छन् । 

चन्दननाथमा १४ हजार ७७९ जना, गुठीचौरमा ५ हजार ७७५ जना, हिमामा ४ हजार ५२० जना, कनकासुन्दरीमा ५ हजार ३०८ जना, पातारासीमा ८ हजार ३१८ जना, सिंजामा ४ हजार ८७७ जना, तातोपानीमा ९ हजार १८६ जना र तिलामा ७ हजार ३९५ जनाले स्वास्थ्य बीमा गरेका छन् । 

तातोपानी गाउँपालिकामा तत्कालीन गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत १० लाख बजेट विनियोजन गरी विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरेका थिए । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ३५४ जना स्वास्थ्यकर्मी र कर्मचारीको एकमुष्ट स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ ।