close

कोरोनाका कारण कर्णालीमा विद्यालय बन्द गर्न सुरु

कोरोनाका कारण कर्णालीमा विद्यालय बन्द गर्न सुरु

Trulli
ADVERTISEMENT

जुम्ला । कर्णालीमा कोरोना संक्रमणको चौथो लहर देखिन थालेको छ । 

जुम्लाको तिला गाउँपालिका–६ घोडे गाउँस्थित जनजागृति माध्यामिक विद्यालयका विद्यार्थीलाई कोरोना भाइरस संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । 

८८ जना नमुना परीक्षण गर्दा एक जना छात्र, एक जना छात्रा गरी दुई जनामा विद्यार्थी र एकस्वास्थ्यकर्मीमा  कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो । 

अघिल्लो हप्ता हिमा गाउँपालिका महावैपाथरखोला गाउँमा रहेको विद्यालयमा पनि संक्रमण परीक्षण गर्दा कोरोना देखिएको थियो । 

विद्यार्थीहरुलाई खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको माग गरेको थियो । 

विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको छ ।प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए । 


उनका अनुसार संक्रमित राख्नका लागि क्वारेन्टाइनको व्यवस्था  पनि छैन । कतिपय विद्यार्थी गम्भीर विरामीका कारण कोरोना परीक्षण गर्नसमेत आउन नसकेको उनले बताए । जनजागृती मावि घोडेमा २ सय २२ जना विद्यार्थी छन् । 

सबै शिक्षक र विद्यार्थी बिरामी भएकाले पठनपाठन प्रभावित बनेको छ । तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीका अनुसार एकजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । 

यस्तै, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय ताखामा पनि विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । 

संक्रमण परीक्षण गर्दा शिक्षक विद्यार्थी गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १९ साउन देखि २५ गते एक सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । 

संक्रमण पुष्टि भएका विद्यार्थी र शिक्षकलाई विद्यालयमै तोकिएको आइसोलेसनमा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत वलिबहादुर बुढाले बताए । 

यसअघिको कोरोना महामारीको बेलाका सबै संरचना ध्वस्त भइसकेका छन् । जसका कारण बिरामी घरमै बसेका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कोरोना संक्रमित भेटिएको जानकारी पाएको बताइन् । 

उनले भनिन्, ‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लासँग समन्वय गरेर अघि बढ्दैछौं । त्यहाँको अवस्था बुझ्दैछौँ ।’ यसअघि हिमा गाउँपालिकाको महावैपातरखोलामा रहेको विद्यालयमा एकजना संक्रमित भेटिएका थिए ।