close

४० पुगेका सबै नागरिकको स्वास्थ्य परीक्षण गाउँपालिकाले गराउने

४० पुगेका सबै नागरिकको स्वास्थ्य परीक्षण गाउँपालिकाले गराउने

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक- बेथानचोक गाउँपालिकाले ४० वर्ष कटेका सबै नागरिककाे स्वास्थ्य परीक्षण गराउँदै आएको छ । स्थानीय बासिन्दालाई अकालमै मृत्यु हुनबाट बचाउनका लागि गाउँपालिकाले  गत आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गराउँदै आएको हाे । 

गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले ४० वर्ष कटेपछि सुगर र प्रेसर परीक्षण गराउँदै आएको हो । सबैजना स्वास्थ्य संस्था पुगेर परीक्षण नगर्ने भएपछि गाउँपालिकाले समय समयमा शिविरनै राखेको बताएको छ । 

गाउँपालिकाले जेष्ठ नागरिकको ‘होल बडी’ परीक्षण गर्ने लक्ष्य भए पनि आर्थिक अवस्थालाई मध्येनजर गरी सुगर र प्रेसरको मात्रै परीक्षण गर्दै आएको हो । गाउँपालिकाले दीर्घ रोगी र नसर्ने रोगका बिरामीलाई ध्यानमा राखी सो कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको वडा नम्बर १ की दलित महिला सदस्य चन्द्रमाया विकका अनुसार पालिकाले गत वर्ष सो परीक्षण गरेको थियो । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिलाई जानकारी दिएर शिविर सञ्चालन गर्ने उनले पालिकाखबरलाई जानकारी दिइन् । गाउँपालिकाले मधुमेह र प्रेसरसँगै क्यान्सर, मुटु रोग तथा दीर्घ रोगीका लागि यस्ताा शिविरको कार्य गर्दै आएको छ । 

साथै आँखा, कान घाँटीबारे पनि शिविर भइरहेको उनको भनाइ छ । परीक्षणको पैसा पालिकाले बेहोर्ने उनले सुनाइन् । गाउँपालिकाले वडास्तरबाटै सो कार्यक्रम गर्दै आएको उनले जानकारी दिइन् । कार्यक्रमबारे स्थानीयकाे प्रतिक्रिया सकरात्मक रहेकाे उनकाे अनुभव छ ।

गाउँपालिकाको वडा नम्बर  ४ की महिला वडा सदस्य रीता बस्नेत थापाले पालिकामा  ६० वर्षभन्दा माथिको नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएकोबारे आफूलाई विस्तृत जानकारी नभएको बताइन् । तर गत वर्ष गाउँपालिकाले स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेको भेन उनलाई याद छ । यसबारे पालिकाले जानकारी दिएको उनको भनाइ छ । 

रोग पहिचान गर्न ४० वर्ष मै स्वास्थ्य परीक्षण

गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत सिताराम तिमल्सिनाका अनुसार पालिकाले ६० वर्ष नाघेकाे नागरिककाे हाेल बडी परीक्षण गर्ने नीति लिएकाे थियाे । तर पछिल्लो समय ४० वर्षभन्दा माथिका नागरिकमा नै सुगर र बल्ड प्रेसरकाे समस्या बढेकोले रोग पहिचानमा गाउँपालिकाले जोड दिएको स्वास्थ्य अधिकृत तिमल्सिनाको भनाइ छ । 

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाले नियमित रुपमा परीक्षण गर्दै आएको उनले पालिकाखबरलाई बताए । 'हामीले मधुमेह, सुगर र प्रेसरको स्वास्थ्य शिविर गराउँदै आएका छौँ । स्वास्थ्य परीक्षण भनेको पुरै शरीरको परीक्षण त होइन्,' उनले भने, 'अहिले देखिएको सुगर र प्रेसरको परीक्षण समय समयमा गर्दै आएका छौँ । स्वास्थ्य संस्थामा परीक्षण गछौँ । नियमित सेवा र शिविर सञ्चालन गर्दै आएका छौँ ।'

शिविरको समयमा कुनै एउटा अस्पतालसँग सम्पर्क गरी आवश्यक कर्मचारीसहित ल्याउने गरेको उनको भनाइ छ । 'समुदायमा सर्ने रोगभन्दा पनि नसर्ने रोग समस्याको रुपमा देखिएको छ,' उनले भने, 'शिविरले यसबारेको समस्या पनि पत्ता लाग्छ । नेपाल सरकारले यी रोगको लागि निःशुल्क औषधि पनि वितरण गर्दै आएको छ ।'

नेपाल सरकारले निःशुल्क औषधि वितरण गर्दै आए पनि सबै स्थानीय बासिन्दालाई साेबारे जानकारी नभएको उनको भनाइ छ । सोही सुविधाबारे जानकारी दिनको पनि सो कार्यक्रम प्रभावकारी हुँदै आएको उनले सुनाए ।

उनले भने, 'स्थानीय बासिन्दालाई जानकारी दिनको लागि पनि नगरपालिकाले शिविर सञ्चालन गर्दै आएको छ । शिविरले पालिकाको सेवाबारे प्रचारपसार गर्नुका साथै एक पटक भए पनि विशषेज्ञ सेवा पाउने गर्छन् ।’ 

गत वर्ष एक हजार ५०० को स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिए पनि एक हजार जनाले मात्रै सेवा लिएका छन् । परीक्षणबाट सामान्य देखिने मानिसमा पनि विभिन्न रोग भेटिएको उनले बताए । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोहीबाट यो कार्यक्रम सञ्चालन हुने छ । 

मृत्युबाट बचाउन ४० वर्षमै स्वास्थ्य परीक्षण

स्थानीय नागरिकलाई मृत्युबाट बचाउनको लागि ४० वर्षदेखि स्वास्थ्य परीक्षण गर्न थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष तथा पालिका प्रवक्ता मधुसुदन तिमल्सिनाका अनुसार पालिकाभित्र पछिल्ला समय सामान्य देखिने व्यक्ति पनि सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला पर्ने गरेको छ । 

नसर्ने रोगको परीक्षण खासै नहुने भएकोले पनि गाउँपालिकाले सो अभियान सञ्चालन गरेको उनको भनाइ छ । ‘सुतिरहेको अवस्थामा सामान्य उपचार गर्न नपाई मर्ने समस्या बढ्दै आएको छ,’ उनले भने, ‘सो कम गर्नको लागि गाउँपालिकाले टोल टोलमा गएर स्वास्थ्य परीक्षण गर्ने योजना ल्याएकाे हाे । स्थानीयको उपचार गर्न सक्ने उदेश्यले गाउँपालिकाले यो योजना सुरु गरेको हो ।’

वडाले समुदायस्तरमै गएर सुगर, प्रेसर र ५ वर्ष मुनिका बालबालिकाको कुपोषणको उपचार सुरु गरेको उनले पालिकाखबरलाई बताए । ‘रोग नै पहिचान नभई मर्ने बढेकोले रोकथामका लागि यो कार्यक्रम अगाडि बढाएको हो,’ उनले भने । 

पालिकाभित्रका स्वास्थ्य संस्थामा नियमित रुपमा सो कार्यक्रम सञ्चालन हुँदै आएको छ । वर्षमा एक पटक स्थानीय जनप्रतिनिधि, कर्मचारी र महिला स्वास्थ्यकर्मी तथा अस्पतालको टोलीसहित शिविरसमेत सञ्चालन हुनुका साथै औषधि पनि वितरण हुँदै आएको उनको भनाइ छ । ‘निःशुल्क रुपमा दिने औषधि पालिकाले  दिने गर्छ । तर अन्य थप आवश्यक परेमा उहाँहरूले आफैँले किन्नुपर्ने हुन्छ,’ उनले भने । 

गाउँपालिकाले स्वास्थ्य परीक्षणसँगै पालिकामा देखिएको रोग पहिचान गरी तथ्यांक संकलन गर्दै आएको उनले दाबी गरे । तर निःशुल्क रुपमा परीक्षण गर्ने भएकाले स्थानीयले कम चासो दिने गरेकामा उनले दुखेसो पोखे । 'तर जो पीडा छन् । आर्थिक समस्याले उपचार गर्न पाएका छैनन । उनीहरु खुसी छन् । सकारात्मक प्रतिक्रिया छ,' उनले भने ।

गाउँपालिकाले आवश्यकताको आधारमा बिरामीको फलोअपको लागि बोलाउने र उपचार गर्ने गरेको छ । उनले भने, 'फलोअप नआएमा नआउनुको कारण पनि सोध्ने गरिएको छ ।'

चालु आवमा बृहत स्वास्थ्य शिविरको लागि अस्पताल छनौट नभएको उनले बताए । आफूहरुले शिविरमा नागरिकको पूरै शरीर परीक्षण गर्ने लक्ष्य लिए पनि धेरै खर्च हुने भएकोले बिरामीको समस्या बुझेर उपचार गर्ने गरेको उनले सुनाए । ‘होल बडीको लागि धेरै खर्च हुने र पालिकाले व्यहोर्न नसक्ने भएकाले नगरेको हो,’ उनले भने ।