close

रौतहटमा जबर्जस्ती चलेका ८ क्रसर उद्याेग बन्द गर्न निर्देशन

रौतहटमा जबर्जस्ती चलेका ८ क्रसर उद्याेग बन्द गर्न निर्देशन

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटका विभिन्न पालिकामा संचालित आठवटा क्रसर उधोग बन्द गरिने भएको छ । क्रसर उद्योगहरूको विस्तृत अध्ययन तथा अनुगमन गर्न गठित अनुगमन समितिको बैठकले मापदण्ड पूरा नगरेका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो ।

 

समितिका संयोजक इन्द्रदेव यादव संयोजकत्वको बैठकले प्राविधिक समितिको प्रतिवेदनका आधारमा बृन्दावन नगरपालिका वडा- ६ मा रहेको श्रीराम जानकी क्रसर, वडा- १ को शिवम् बालुवा वासिङ उद्योग र आश्रय अस्फाल्ट एन्ड क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।


यस्तै, फतुवा विजयपुर नगरपालिका- ८ को सुमुख क्रसर, श्रेष्ठ धुकुछु मृत सञ्जीवनी जेभी उद्योग, गरुडा नगरपालिका महमदपुरको शिवशंकर क्रसर, चन्द्रपुर नगरपालिका- ८ को संकटमोचन वासिङ उद्योग, गुजरा नगरपालिका वडा- ८ को रमण/सगरमाथा जेभी उद्योग बन्द गर्ने निर्णय गरिएको हो ।

 

समितिका अनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी संचालन हुँदै आएका क्रसर उद्योग तत्काल बन्द गर्ने, घरेलुमा दर्ता भई क्रसर संचालनको अनुमति प्राप्त गरेका तर आवश्यक मापदण्ड पूरा नगरेका क्रसर हाललाई बन्द गरी मापदण्ड पुर्‍याएपछि मात्र संचालन गर्न अनुमति दिने निर्णय भएको छ ।

 

राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त योजनाको हकमा भने आवश्यक क्रसर उद्योग संचालन गर्न अनुमति दिने निर्णय भएको छ ।

 

वृन्दावनको श्रीराम जानकी क्रसर उद्योग, सुमुख क्रसर उद्योग बन्द गर्नुपर्नेछ । यस्तै, शिवशंकर क्रसर उद्योग, संकटमोचन वासिङ उद्योग, शिवम् बालुवा वासिङ उद्योगलाई भने मापदण्ड पूरा गरेपछि मात्र संचालन गर्ने दिने निर्णय भएको छ ।

 

अस्फाल्ट एन्ड क्रसर उद्योग, सगरमाथा/जेभी र श्रेष्ठ धुकुछु मृत सञ्जीवनी जेभी उद्योगलाई भने आवश्यक कागजात पेस गरी अनुमति लिएपछि मात्र संचालन गर्न दिने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।